
चितवन । देउराली–जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ ।
फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचनाको काम थालिएको छ ।
प्रारम्भिक काम अघि बढाइएको छ । थप संरचना निर्माणका लागि सरकारी निकायहरुसँग लिनुपर्ने अनुमतिको चरणमा रहेको छ । दुई वर्षभित्रमा निर्माणको काम सक्ने लक्ष्य लिइएको उनको भनाइ छ । अबको दुई महिनामा मुख्य संरचनाको काम गर्ने उद्योगको योजना रहेको छ ।
यो एकाइ सम्पन्न भए पछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने उहाँले बताउनुभयो । देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो ।
हाल कम्पनीले ‘क्याप्सुल’, ‘ट्याब्लेट’, ‘लिक्विड’, ‘ओइन्टमेन्ट’, ‘ड्राइ पाउडर’लगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।
अन्तर्राष्ट्रियस्तरका डब्लुएचओ जिएमपी, आइएसओ ९००१ र आइएसओ १४००१ प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्याइरहेको उनले बताएका छन् ।
चितवनमा नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तरराष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । हाल उद्योग काठमाडौँको टोखामा रहेको छ । यो पहिलो एकाइ हो भने दोस्रो एकाइ भरतपुरमा सञ्चालन गर्न लागिएको हो ।










प्रतिक्रिया