काठमाडौं महानगरमा बालेनको ‘भीआइपी लिफ्ट’ अब सर्वसाधारणका लागि खुला


काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा रहेको ‘भीआइपी लिफ्ट’ अबदेखि सर्वसाधारणले पनि प्रयोग गर्न पाउने भएका छन् ।

विगतमा बालेन्द्र शाह महानगर प्रमुख भएको बेला पासवर्ड राखेर विशिष्ट व्यक्तिहरूका लागि मात्र सीमित गरिएको उक्त लिफ्टको लक हटाइएपछि सबैका लागि पहुँच पुगेको हो ।

कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा गत माघ ६ गतेदेखि लिफ्ट खुला गरिएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए । २०८१ साउनमा जडान भएको यो नयाँ लिफ्ट यसअघि मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतका लागि मात्र सुरक्षित गरिएको थियो ।

महानगरको मुख्य ६ तले भवनमा मेयर, उपमेयर र प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको छ । तेस्रो तलामा उपमेयर, चौथोमा प्रमुख प्रशासकीय अधिकृत र पाँचौँ तलामा मेयरको कार्यालय छ ।

सेवाग्राहीको बढी चाप हुने यस भवनमा लिफ्ट प्रयोग गर्न नपाउँदा सर्वसाधारण हिँडेरै माथिल्लो तलामा जान बाध्य थिए । मेयर बालेन साहले राजीनामा दिएर चुनावी मैदानमा होमिएपछि कार्यवाहक जिम्मेवारी सम्हालेकी डंगोलले यस्तो निर्णय लिएकी हुन् ।

Skip This