एआईमा सबैलाई जित्नका लागि चीनले बनायो रोडम्याप


एजेन्सी । जनवरी महिनाको अन्त्यतिर चीनका राष्ट्रपति सी चिनपिङले देशभरिका अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै चीन युगान्तकारी प्रमुख प्राविधिक क्रान्तिको संघारमा रहेको बताए ।

उनले कृत्रिम बौद्धिकता (एआई) स्टीम इन्जिन, बिजुली र इन्टरनेटजस्तै रूपान्तरणकारी रहेको बताए । तर, यसका धेरै सम्भावनाहरूका बावजुद चीनले यस नयाँ प्रविधिलाई नियन्त्रण बाहिर जान दिनु हुँदैन भनेर सीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि आयोजित एक अध्ययन सत्रमा चेतावनी दिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले बेलैमा र निर्णायक रूपमा कदम चाल्नुपर्छ अनि विवेक तथा सतर्कताका साथ समस्याहरूको पूर्वानुमान गरी तिनलाई रोक्नुपर्छ, उनले भने ।

सीका यी टिप्पणीहरूले चीनको प्राविधिक उद्योगमा रहेको तनावपूर्ण स्थितिलाई उजागर गर्छन् । चिनियाँ नेतृत्वले आगामी दशकमा एआईले देशको आर्थिक वृद्धिलाई अघि बढाउने निर्णय गरेको छ । साथै, यस नयाँ प्रविधिलाई चिनियाँ समाजको स्थिरता र त्यसमाथिको कम्युनिस्ट पार्टीको पकडमा बाधा पुर्याउन दिन सकिँदैन ।

फलस्वरूप, सरकारले चिनियाँ एआई कम्पनीहरूलाई एकैसाथ दुईवटा काम गर्न दबाब दिइरहेको छ । चीनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धीहरूलाई उछिन्न र प्राविधिक परिवर्तनको अग्रपङ्क्तिमा रहन द्रुत गतिमा अघि बढ्ने र साथसाथै बढ्दो जटिल नियमहरूको पालना गर्ने भएको छ ।

चीनको सबैभन्दा आशाजनक एआई स्टार्टअपमध्ये एक जिपु एआईले गत महिना हङकङमा सार्वजनिक सूचीकरणका लागि निवेदन दियो (जसले कम्पनीको मूल्य ६ अर्ब डलरभन्दा बढी मूल्यांकन गर्यो) । उसले लगानीकर्ताहरूलाई आधा दर्जन वा सोभन्दा बढी एआई–सम्बन्धित नियमहरूको पालना गर्नुपर्ने भारी बोझका बारेमा चेतावनी दियो । ओपन एआई जस्तै जिपुले एआई मोडल र तिनको प्रयोग गर्ने एप्लिकेसनहरू विकास गर्छ, जस्तै च्याटजीएलएम च्याटबोट ।

नियमहरूले जिपुलाई चिनियाँ सरकारले अवैध ठानेका जानकारीहरूको प्रसार रोक्नका लागि गेटकिपर (निरीक्षक) को रूपमा काम गर्न बाध्य पारेका छन् । ‘नियामकहरूले सधैं कम्पनीलाई नियम पालना गरेको पाउनेछन् भन्नेमा ढुक्क हुन सकिँदैन जसले हामीलाई गम्भीर कानुनी, वित्तीय र परिचालन परिणामहरूको जोखिममा पार्न सक्छ,’ कम्पनीले आफ्नो निवेदनमा भनेको छ ।

इन्टरनेटलाई कुनै समय सत्तारूढ कम्युनिस्ट पार्टीका लागि अस्तित्वकै खतराको रूपमा हेरिएको थियो । तर, बेइजिङले सेन्सरशिप र ठूला इन्टरनेट कम्पनीहरूमाथिको कडा नियन्त्रणको माध्यमबाट यसलाई आफ्नो अधीनमा ल्यायो । कृत्रिम बौद्धिकताले पनि उस्तै दुविधा खडा गरेको छ । यो आर्थिक लाभको प्रतिज्ञा गर्ने रूपान्तरणकारी शक्ति हो जसले पार्टीको सत्तामाथिको पकडलाई कमजोर बनाउने क्षमता पनि राख्छ ।

ट्रम्प प्रशासनले एनभिडियाद्वारा निर्मित केही शक्तिशाली एआई चिपहरूमा व्यापार प्रतिबन्ध खुकुलो पारेको छ तर चिनियाँ एआई उद्योगका लागि अझै पनि उन्नत प्रणालीहरू सञ्चालन गर्न आवश्यक सेमिकन्डक्टरहरूमा पहुँच मुख्य चिन्ताको रूपमा रहेको छ ।

तर, चीनका नियामक प्रतिबन्धहरूले अवरोधको अर्को तह थपेका छन् र अलिबाबा, डीपसीक र जिपु जस्ता चिनियाँ फर्महरूलाई ओपन एआई र एन्थ्रोपिक जस्ता विदेशी प्रतिस्पर्धीहरू जत्तिकै शक्तिशाली एआई प्रणालीहरू विकास गर्न र आफ्ना उत्पादनहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धीहरूभन्दा कडा नियमहरूभित्र राख्न कठिन स्थितिमा पुर्याएका छन् ।

‘प्रक्षेपणपूर्वको परीक्षणका सन्दर्भमा ओपन एआई र अलिबाबाले कानुनी रूपमा गर्नुपर्ने कामहरू निकै फरक छन्,’ कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पीसका सदस्य स्कट सिंगरले भने ।

उदाहरणका लागि, क्यालिफोर्नियाको नयाँ एआई कानुनले कम्पनीहरूलाई एआई प्रणाली मानव नियन्त्रणभन्दा बाहिर जान सक्ने वा ठूलो संख्यामा मृत्यु गराउन सक्ने सम्भावनाको योजना बनाउन आवश्यक पार्छ । यसको विपरीत, चीनका नियमहरू सूचना नियन्त्रण र डेटा सुरक्षामा बढी केन्द्रित रहेको सिंगरले भने ।

सन् २०२२ देखि, चिनियाँ प्राविधिक कम्पनीहरूले रेडनोट र टिकटकको घरेलु संस्करण डोउइन जस्ता एपहरूमा भिडियो स्क्रोलिङ जस्ता सुविधाहरू पछाडिका एल्गोरिदमहरूको विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

कम्पनीहरूले आफ्ना एपहरूले कसरी काम गर्छन् भनेर सरकारलाई बताउनुपर्छ र प्रविधिको विकाससँगै अधिकारीहरूलाई अद्यावधिक राख्नुपर्छ । नियामकहरूले कुनै एपको जनमतमा जति ठूलो प्रभाव छ भन्ने ठान्छन्, त्यति नै बढी ध्यान दिने गर्छन् ।

तर, सरकारले नवप्रवर्तन वा नयाँ प्रविधिहरूसँग प्रयोग गर्ने कम्पनीहरूको क्षमतालाई सीमित नगर्न खोजेको फुदान विश्वविद्यालयका सह–प्राध्यापक च्याङ तियान्जियाओले बताए । ‘चीन कानुन र कडा नियमहरूले कम्पनीहरूको नवप्रवर्तन गर्ने उत्साहलाई हानि पुर्याओस् भन्ने चाहँदैन,’ च्याङले भने ।

केही प्रभावशाली चिनियाँ प्राविधिक कम्पनीहरू नीतिहरूको मस्यौदा चरणमा परिवर्तनका लागि पैरवी गर्न पनि सफल भएका छन्, अलिबाबाको प्रतिनिधित्व गर्ने सांघाईको फ्याङ्दा पार्टनर्स कानुनी फर्मकी साझेदार एलीस झुले भनिन् ।

च्याटजीपीटीले च्याटबोटहरूको विश्वव्यापी लहर ल्याएपछि चिनियाँ अधिकारीहरूले प्रश्नहरूको जवाफ दिन, कुराकानी गर्न र चित्र तथा भिडियोहरू सिर्जना गर्न सक्षम एआई प्रणालीहरूका लागि तुरुन्तै मस्यौदा नियमहरू घोषणा गरे । यी प्रणालीहरूले ठूलो मात्रामा डेटा खाएर सिक्छन् र सुरुवाती चिनियाँ मोडलहरू अन्य देशमा जस्तै मेटाको लामा जस्ता ओपन सोर्स मोडलहरूमा आधारित थिए । ती मोडलहरूमा रेडिट र विकिपिडिया जस्ता इन्टरनेट स्रोतहरू समावेश हुन्छन्, जसमा चीनमा प्रतिबन्धित जानकारीहरू हुन सक्छन् ।

सुरुमा अधिकारीहरूले सबै तालिम डेटा स्रोतहरू सरकारको सूचना नियन्त्रणसँग मेल खाने र प्रमुख समाजवादी मूल्यहरू झल्काउने हुनुपर्ने नियमको मस्यौदा तयार पारेका थिए । यो लागू भएको भए चिनियाँ कम्पनीहरू इन्टरनेटका अन्य जानकारी बिना नयाँ मोडलहरूलाई तालिम दिन महिनौंसम्म पछाडि पर्ने थिए ।

तर, जुलाई २०२३ मा अन्तिम आदेश जारी हुँदा आवश्यकताहरू परिवर्तन भइसकेका थिए । कम्पनीहरूले आफ्ना एआई प्रणालीहरूबाट उत्पादित जानकारी चिनियाँ सूचना नियन्त्रण अनुकूल छ भन्ने सुनिश्चित गर्नुपर्ने व्यवस्था त्यतिबेला मात्र लागू हुने भयो जब ती उत्पादनहरू सर्वसाधारणका लागि उपलब्ध हुन्छन् ।

स्ट्यानफोर्डका प्राध्यापक ग्राहम वेबस्टरले भने, ‘चिनियाँ नियामकहरूलाई लाग्छ कि एआई प्रविधि रूपान्तरणकारी हुनेछ र त्यसैले राज्यले नै यसलाई कसरी रूपान्तरण गर्ने भन्ने कुराको मार्गदर्शन गर्नुपर्छ ।’ तर उनले थपे कि चिनियाँ अधिकारीहरूले ‘आफ्नो कानुन र नियमहरूको कार्यान्वयनले उद्यमशीलता र व्यावसायिक जीवन्ततालाई कमजोर बनाउन सक्छ कि’ भनेर पनि विचार गर्नुपर्छ ।

डिसेम्बरमा, बेइजिङले मानिस जस्तै कुराकानी गर्ने एआई सेवाहरूका लागि नयाँ मस्यौदा नीतिहरू घोषणा गर्यो । जस्तै, चिनियाँ स्टार्टअप मिनिम्याक्सले बनाएको लोकप्रिय च्याटबोट सिङ्ये । यी नयाँ नियमहरूले मानिसहरूलाई च्याटबोटमा निर्भर हुनबाट जोगाउन खोजेका छन् । नियमहरूमा भनिएको छ, ‘कम्पनीहरूको लक्ष्य सामाजिक अन्तरक्रियालाई विस्थापन गर्ने हुनु हुँदैन ।’

विश्लेषकहरू भन्छन् कि यो मस्यौदा नियममा प्राविधिक रूपमा पालना गर्न गाह्रो हुने धेरै प्रावधानहरू छन् । जेनेरेटिभ एआई सम्बन्धी सुरुवाती नियमहरू जस्तै, चीनले फेरि पनि कम्पनीहरूले आफ्ना च्याटबोटहरूलाई सरकारद्वारा अनुमोदित जानकारीमा मात्र तालिम दिनुपर्ने सर्त राखेको छ । कम्पनीहरूले प्रयोगकर्ताहरूको ‘भावनात्मक प्रोफाइल’ पनि बनाउनुपर्छ, ताकि उनीहरूले आफूलाई हानि पुर्याउन खोजेको संकेत देखिएमा हस्तक्षेप गर्न सकियोस् ।

नियामकहरूले हालै बढी सावधानी देखाएको एउटा क्षेत्र स्वचालित कार हो, जुन एआईको एक मुख्य प्रयोग हो । इलेक्ट्रिक सवारीसाधन उत्पादनमा चिनियाँ कम्पनीहरूको सफलतामा टेकेर चीनले अन्य कुनै पनि देशको तुलनामा चालकविहीन कारहरूको परीक्षण र परिचालनमा आक्रामक रूपमा कदम चालेको छ ।

चिनियाँ सवारी उत्पादकहरूले गत वर्ष नै केही प्रकारका स्वायत्त ड्राइभिङ प्रणालीहरूलाई सरकारले स्वीकृति दिने अपेक्षा गरेका थिए र आवश्यक सेन्सर तथा उपकरणहरू सहित कारहरूको ठूलो मात्रामा उत्पादन गर्न तयारी सुरु गरेका थिए।
तर गत मार्चमा साओमीको सहयोगी ड्राइभिङ मोड प्रयोग गर्दा भएको दुर्घटनामा तीन महिला विद्यार्थीको मृत्यु भएपछि नियामकहरूले यो प्रविधिको स्वीकृतिमा ढिलाइ गरे ।

चिनियाँ अधिकारीहरूले एआईका सम्भावना र जोखिमहरूका बीच सन्तुलन कायम गर्न खोजे तापनि, सुस्त आर्थिक वृद्धिका बीच यो प्रविधि बेइजिङका लागि झन् महत्त्वपूर्ण बन्दै गएको छ । सन् २०२४ को अन्त्यतिर चिनियाँ स्टार्टअप डीपसीकले आफ्नो लोकप्रिय एआई मोडल सार्वजनिक गरेपछि र त्यसपछि अलिबाबा र जिपुका उच्च प्रदर्शन गर्ने मोडलहरू आएपछि देशभरका स्थानीय सरकारहरूले अस्पतालदेखि कारखानासम्म अर्थतन्त्रका सबै भागहरूमा एआई प्रयोग गरिरहेको घोषणा गर्न हतारिएका छन् ।

‘आर्थिक वृद्धि पार्टीको वैधताका लागि धेरै महत्त्वपूर्ण भएकाले, उनीहरू एआई नियमहरू यति भारी नहोऊन् जसले वृद्धिलाई रोकोस् र लगानीलाई भगाओस् भन्ने सुनिश्चित गर्न चाहन्छन्,’ कार्नेगीका सिंगरले भने ।