
काठमाडौं । वस्तु (कमोडिटी), बहुमूल्य धातु र क्रिप्टो सम्पत्तिको मूल्य सोमबार घटिरहेको छ किनकि सुन र चाँदीको कीर्तिमान वृद्धि अब सेलाउँदै गएको छ ।
वित्तीय बजारले नयाँ हप्ताको आरम्भ अस्थिर मुडमा गरेको छ जसमा विश्लेषकहरूले धातुको मन्दीको चर्चा गरिरहेका छन् । यसले सेयर बजारलाई पनि हल्लाइरहेको छ ।
महिनौंसम्मको वृद्धिले सुनलाई कीर्तिमानी उचाइमा पुर्याएपछि अहिले यसको मूल्य घट्न थालेको छ । यस सत्रमा मात्रै यसको मूल्य ८ प्रतिशतभन्दा बढीले घटेर प्रति औंस ४४ सय ६५ डलरमा झरेको छ जबकि गत साता मात्रै यसले प्रतिऔंस झण्डै ५६ सय डलरको कीर्तिमानी उचाइ छोएको थियो ।
चाँदीले अस्थिरताका कारण डेभिल्स मेटल (शैतानी धातु) उपनाम पाएको छ । उपनामलाई सार्थक तुल्याउँदै चाँदी सोमबार १३ प्रतिशतले ओरालो लागेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा आएको कमीको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।
माघ १५ गते सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको थियो । उक्त दिन सुन तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसयता सुनको मूल्यमा निरन्तर गिरावट आउँदा नेपाली बजारमा तीन कारोबार दिनमा सुनको मूल्य ५२ हजार ७ सयले घटेको हो । शुक्रबार प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आइतबार थप १८ हजार ८ सय रुपैयाँले घटेको थियो । आइतबार ३ लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार २ लाख ८६ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्यमा पनि ठूलो गिरावट देखिएको छ। शुक्रबार प्रतितोला ७ हजार ६५ रुपैयाँमा बिक्री भएको चाँदी आइतबार १ हजार ५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य ५ हजार २ सय तोकिएको छ ।
गत शुक्रबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले फेडरल रिजर्भको आगामी अध्यक्षका रूपमा केभिन वार्सलाई मनोनयन गर्ने बताएको दिन सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आयो ।
पेपरस्टोनका वरिष्ठ अनुसन्धान रणनीतिकार माइकल ब्राउन भन्छन्, ‘निश्चित रूपमा जनवरी महिनाको अन्तिम कारोबार दिन शान्त रहेन जसमा धातुको क्षेत्रमा आएको ठूलो मन्दीको वर्चस्व रह्यो ।’ तथ्यांकका आधारमा भन्नुपर्दा शुक्रबार स्पट सुनको मूल्य ९ प्रतिशतले घट्यो जुन सन् २०१३ पछिको सबैभन्दा खराब दिन र पछिल्लो ४५ वर्षकै चौथो खराब दिन थियो ।
यसैबीच, चाँदीको मूल्य एक बिन्दुमा ३५ प्रतिशतसम्म घटेको थियो तर पछि केही सुधार भएर दिनको अन्त्यमा २६ प्रतिशतको भारी गिरावटमा बन्द भयो । ब्लूमबर्गको तथ्यांक अनुसार यो अहिलेसम्मकै सबैभन्दा खराब दैनिक गिरावट हो ।
वार्सको पहिचान अन्य उम्मेदवारहरूको तुलनामा कडा मौद्रिक नीतिका पक्षधर नीतिकारको रूपमा छ । उनी फेडको ब्यालेन्स सिट घटाउन चाहन्छन् । त्यसैले लगानीकर्ताहरूले अपेक्षा गरेभन्दा कडा मौद्रिक नीतिको पूर्वानुमान गरिरहेका हुन सक्छन् (यद्यपि ट्रम्पले ब्याजदर नघटाएमा वार्सविरुद्ध मुद्दा हाल्ने भी ठट्टा गरिसकेका छन्) ।
कमनवेल्थ बैंक अफ अस्ट्रेलियाका कमोडिटी रणनीतिकार विवेक धर व्याख्या गर्छन्, ‘अमेरिकी डलर बलियो हुनुले पनि बहुमूल्य धातु र तेल तथा आधारभूत धातुहरू सहित अन्य वस्तुहरूमा दबाब बढाइरहेको छ । अमेरिकी सेयरहरूसँगै बहुमूल्य धातुहरू पनि बिक्री गर्ने बजारको निर्णयले लगानीकर्ताहरूले वार्सलाई कडा नीतिका पक्षधरका रूपमा हेरेको संकेत गर्छ ।’
तर, यो बिक्रीको लहर झनै गहिरो रहेको केसीएमका मुख्य व्यापार विश्लेषक टिम वाटरको तर्क छ । उनले व्याख्या गर्दै भने, ‘वार्सको मनोनयन सुरुवाती कारण भए पनि यसले मात्र बहुमूल्य धातुमा आएको यति ठूलो गिरावटलाई न्याय गर्दैन । यसमा बाध्यकारी लिक्विडेशन र मार्जिन वृद्धिले एकपछि अर्को प्रभाव पारेको छ ।’








प्रतिक्रिया