‘समृद्धिका लागि शान्ति र सुशासन’- नवनियुक्त गृहमन्त्री थापा



काठमाडौँ । नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा र सुशासन पहिलो शर्त भएको बताएका छन् ।

मन्त्रालयमा आज पदबहालीपछि मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिँदै उनले भने, “निर्वाचनपछिको राजनीतिक स्थायित्वले मुलुक र जनताको हितमा काम गर्ने ऐतिहासिक अवसर आएको छ, यसलाई अवसरका रुपमा लिनुपर्छ ।

जनअपेक्षानुसार काम गर्न आफ्नो क्षमताले भ्याएसम्म काम गरिने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री थापाले यसमा आइपर्ने चुनौतीको सामना गर्न सबैको सहयोगको अपेक्षा गरे।

मन्त्रालयमा यसअघिका राम्रा कामलाई निरन्तरता दिइने र सकारात्मक कामको अनुसरण गरिने बताउँदै उनले कर्मचारी र सुरक्षाकर्मीको वृत्तिविकासमा देखिएका समस्या समाधानका लागि पनि आवश्यक पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

विसं २०१२ मा गुल्मीमा जन्मेका मन्त्री थापाले विद्यालयस्तरको शिक्षा नेपाल तथा भारतका विभिन्न विद्यालयबाट र उच्च शिक्षा रुसको पेट्रिस लुमुम्बा विश्वविद्यालयबाट हासिल गरेका छन् । पैँतालीस वर्षदेखि राजनीतिमा सक्रिय उनले यसअघि पहिलो संविधानसभा सदस्यमा निर्वाचित हुनाका साथै रक्षा मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका छन् । पार्टीमा महासचिवको जिम्मेवारी निर्वाह गरिसक्नुभएका उनी हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय सदस्य छन् ।

पदबहाली कार्यक्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले मन्त्रालयले भोग्नुपरेका चुनौतीका बारेमा जानकारी दिए । मन्त्री थापालाई  गृहसचिव, तीनै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका उच्च पदाधिकारी र उच्च सुरक्षा अधिकारीले स्वागत गरेका थिए ।


क्लिकमान्डु