
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केभिन वार्शलाई केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षका रूपमा मनोनयन गर्ने घोषणा गरेका छन् । आगममी मे महिनामा बहालवाला फेड अध्यक्ष जेरोम पावलको कार्यावधि सकिएपछि वार्श फेड अध्यक्ष बन्ने लगभग पक्का छ ।
यसलाई एकजना कर्मचारीको फेरबदलका रूपमा मात्र हेर्न नमिल्ने विश्लेषकहरू बताउँछन् । यसले अमेरिकी र विश्वव्यापी मौद्रिक नीतिमा प्रतिमान परिवर्तनको संकेत दिएको बताइन्छ ।
कैयौं दशकदेखि फेड सरकारबाट स्वतन्त्र निकायका रूपमा सञ्चालित हुँदै आएको छ । सन् १९५८ मा अर्थशास्त्री ए. डब्ल्यू. फिलिप्सले बेरोजगारी र मुद्रास्फीतिबीचको सम्बन्धलाई दर्शाउने समष्टिगत अर्थशास्त्रीय (म्याक्रोइकोनोमिक) अवधारणा फिलिप्स कर्भ ल्याएका थिए । बेरोजगारी घट्दा मुद्रास्फीति बढ्ने र बेरोजगारी बढ्दा मुद्रास्फीति घट्ने गर्छ भनी फिलिप्स कर्भले जनाउँछ । फेडले यही सिद्धान्तलाई अवलम्बन गर्दै आएको थियो ।
कानुनी पृष्ठभूमि भएका बजारमुखी रणनीतिकारका रूपमा चिनिने वार्शलाई मनोनयन गरेर ट्रम्पले वित्तीय लोकप्रियतावाद र मौद्रिक यथार्थबीचको खाडललाई पुर्ने प्रयास गरिरहेको विश्लेषकहरूको कथन छ ।
विगतमा फेडको गभर्नर र वाल स्ट्रीटका पाका खेलाडी रहेका केभिन वार्शले केन्द्रीय बैंकमा सत्तापरिवर्तनको पैरवी गर्दै आएका छन् । पोहोर साल मात्र उनले अमेरिकाको वित्तीय नीति खतरनाक बाटोमा अघि बढिरहेको र गैरजिम्मेवार तरिकाले गरिने खर्चमा वृद्धि भइरहेको बताएका थिए भनी बीबीसीमा तारा मेवावालाले लेखेकी छन् । उनले नियुक्त हुनेबित्तिकै ब्याजदरमा कटौती गर्ने अपेक्षा गरिएको छ ।
पुँजी प्रवाह, वस्तु बजार (कमोडिटी मार्केट्स) र अमेरिकी डलरको स्थिरतामा वार्शको मनोनयनको असर परिरहेको छ ।
सन् २००६ मा ३५ वर्षको उमेरमा बोर्ड अफ गभर्नर्समा नियुक्त भएका वार्श त्यस पदमा पुग्ने अहिलेसम्मकै कान्छा व्यक्ति थिए । सन् २००८ मा आर्थिक संकटको समयमा उनले फेड र वाल स्ट्रीटबीच महत्त्वपूर्ण सम्पर्क सूत्रका रूपमा काम गरेका थिए । त्यसले गर्दा उनलाई सैद्धान्तिक मोडलहरूभन्दा वित्तीय प्रणालीको वास्तविक अवस्था बुझ्ने समस्या समाधानकर्ताको रूपमा ख्याति दिलाएको थियो ।
तर, पछि गएर वार्श फेडले हिँडेको बाटोको कडा आलोचक बन्दै गए । उनले सरकारी बोन्ड र कर्पोरेट ऋण जस्ता दीर्घकालीन धितो लिने मौद्रिक नीति ‘क्वान्टिटेटिभ इजिङ’ को विरोध गर्दै केन्द्रीय बैंकले आफ्नो सीमा नाघिरहेको र बजारका संकेतहरूलाई बिगारिररहेको भन्दै आलोचना गरेका थिए ।
वार्शको मनोनयनले लामो समयसम्म न्यून ब्याजदरको युगबाट हटेर कर्मचारीतन्त्रद्वारा नियन्त्रित अस्थिरताको साटो बजारद्वारा सञ्चालित मूल्य निर्धारणलाई प्राथमिकता दिने दर्शनतर्फको यात्रालाई संकेत गर्ने विश्लेषकहरू बताउँछन् ।
ट्रम्पले वार्शलाई मनोनयन गर्नुमा रणनीतिक कारण छ । उनले लामो समयदेखि जेरोम पावलको नेतृत्वमा रहेको फेडले आफ्नो विकास एजेन्डामा अवरोध पुर्याएको गुनासो गर्दै आएका छन् । वार्शले निकट भविष्यमा ब्याजदर घटाउने अभिव्यक्ति दिएर ट्रम्पको मन जितेका छन् । बजारको डरलाई रोक्न सक्ने संस्थागत विश्वसनीयता वार्शले हासिल गरेको ट्रम्पको बुझाइ देखिन्छ ।
ट्रम्पले आफ्नो विचारधारासँग मिल्ने व्यक्तिलाई फेड अध्यक्षका रूपमा मनोनयन गरेपछि केन्द्रीय बैंकको स्वतन्त्रताका बारेमा चिन्ता व्यक्त गरिएको छ ।
ट्रेजरी (अर्थ मन्त्रालय) र केन्द्रीय बैंकबीचको सीमारेखा धमिलो हुँदा दीर्घकालीन मुद्रास्फीतिको अपेक्षा प्रायः अनियन्त्रित हुने गरेको जर्मनीको वेमार गणतन्त्रदेखि आधुनिक टर्कीसम्मको आर्थिक इतिहासले देखाउँछ ।
जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नु फेडको प्राथमिक कर्तव्य हो । अर्थात्, अर्थतन्त्र अस्थिर हुन थाल्दा ब्याजदर बढाएर नियन्त्रण गर्नु फेडको काम हो । वार्शलाई ट्रम्पको बजेट घाटामार्फत लगानी गरिएको खर्चलाई गति दिन न्यून ब्याजदर कायम गर्ने उपकरणको रूपमा हेरिएमा अमेरिकी ट्रेजरीमा मुद्रास्फीति प्रिमियम बढ्न सक्छ ।
तर, वार्शले फेडलाई फरक किसिमको स्वतन्त्रता दिलाउन सक्छन् । भनाइको मतलब, विद्यावारिधि गरेका फेड गभर्नरहरूको सामूहिक सोच (ग्रुप थिंक) बाट उनले स्वतन्त्रता दिलाउन सक्छन् । वार्शले नियममा आधारित दृष्टिकोणको वकालत गर्ने गरेका छन् । त्यसले मौद्रिक नीतिलाई बढी अनुमानयोग्य बनाउन सक्छ ।
वार्शलाई मनोनयन गर्ने भनी ट्रम्पले घोषणा गरेलगत्तै आर्थिक मिडिया र सामाजिक सञ्जालमा आशावाद र सावधानीको मिश्रण देखिएको छ ।
वार्शप्रति बजारको प्रतिक्रियालाई ट्रम्पको व्यापार नीतिको चस्माबाट हेर्ने गरिएको छ । त्यो अनियमन (डिरेगुलेशन), कर कटौती र सम्पत्तिको मूल्यवृद्धिमा बाधा नपुर्याउने फेडको संयोजन हो ।
बहालवाला फेड अध्यक्ष जेरोम पावलभन्दा विपरीत वार्श बजारको सोच बुझ्न सक्ने व्यक्ति हुन् । उनले तरलताको भाषा बोल्छन् । यसले गर्दा वार्शको नेतृत्वमा रहेको फेडले तरलता संकटमा छिटो प्रतिक्रिया दिनेछ र डिजिटल सम्पत्ति तथा आधुनिक भुक्तानी प्रणालीको एकीकरण लगायत वित्तीय नवप्रवर्तनलाई समर्थन गर्नेछ भनी इक्विटी ट्रेडरहरूमा विश्वास बढेको छ ।
अमेरिकाको अर्थप्रणालीमा वार्शको कार्यकालको सबैभन्दा प्रत्यक्ष प्रभाव मौद्रिक र वित्तीय नीतिको समन्वयमा देखिनेछ । विगत चार वर्षदेखि फेड र ह्वाइट हाउस अक्सर विपरीत दिशामा हिँडिरहेका छन् । ह्वाइट हाउसले ठूलो खर्चमार्फत बढाएको मुद्रास्फीतिलाई नियन्त्रण गर्नका लागि फेडले ब्याजदर बढाइरहेको थियो ।
वार्शको नेतृत्वमा रणनीतिक विकास गठबन्धन बनेको देख्न सकिन्छ । ट्रम्पले आक्रामक भन्सार शुल्क र कर कटौती लागू गरिरहेमा वार्शले डलरलाई विदेशी पुँजी आकर्षित गर्न पर्याप्त रूपमा बलियो र घरेलु उत्पादनलाई सहयोग गर्न पर्याप्त लचिलो राख्दै बजारको अस्थिरता व्यवस्थापन गर्न खोज्नेछन् ।
यसबाहेक वार्शको इतिहासले बैंकिङ अनियमनतर्फको धक्कालाई संकेत गर्छ । सन् २००८ को आर्थिक संकटपछि त्यस्तै संकट भविष्यमा नआओस् भन्नका लागि अमेरिकाको वित्तीय नियमनलाई पूर्ण परिवर्तन गर्न ल्याइएको डोड–फ्य्रांक ऐनमार्फत लगाइएका कडा पुँजी आवश्यकताहरूलाई खुकुलो पारेर वार्शले कर्जा प्रवाहको लहर ल्याउन सक्छन् ।
यसले प्रणालीगत जोखिम बढाउन सक्ने चेतावनी विश्लेषकहरूले दिएको भए पनि अमेरिकालाई २ प्रतिशतबाट ४ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिमा लैजान यो आवश्यक माध्यम भएको ट्रम्प समर्थकहरू तर्क गर्छन् ।
यस मनोनयनको विश्वव्यापी प्रभाव घरेलु प्रभाव भन्दा पनि गहिरो हुन सक्छ । वित्तीय विश्लेषक तन्वी रत्नाको सबस्ट्याक ‘गोल्ड, सिल्भर, द डलर: द वीक द्याट वाज’ ले वार्शको मनोनयनलाई बाँकी विश्वले कसरी हेर्छ भन्ने विषयमा महत्त्वपूर्ण रूपरेखा प्रदान गरेको छ ।
विश्वव्यापी मौद्रिक व्यवस्था हाल नाजुक संक्रमणको अवस्थामा रहेको रत्नाले औंल्याएकी छन् । अमेरिकी डलर विश्वको रिजर्भ मुद्रा भएकाले फेडमा हुने कुनै पनि परिवर्तन अन्तर्राष्ट्रिय घटना हो । वार्शले विश्वव्यापी स्थिरताभन्दा अमेरिकी वृद्धिलाई प्राथमिकता दिने राष्ट्रवादी मौद्रिक नीतितर्फ कदम चालेमा उदीयमान बजारहरूले डलरको अभाव (डलर स्क्वीज) को सामना गर्नुपर्ने हुन सक्छ ।
पुँजीको प्रवाह अमेरिका र बाँकी विश्वबीचको ब्याजदरको अन्तरप्रति संवेदनशील हुन्छ भनी ग्लोबलफ्लोजका विश्लेषकहरू बताउँछन् । वार्शले ट्रम्पको भन्सार नीतिको मुद्रास्फीतिजन्य दबाबलाई सामना गर्न अपेक्षा गरेभन्दा उच्च ब्याजदर कायम राखे भने पुँजी युरोप र एसियाबाट पलायन भएर अमेरिकी बजारमा पुग्नेछ । विश्वव्यापी तरलताको यस प्रशोचनले ग्लोबल साउथका कमजोर अर्थतन्त्रहरूलाई अस्थिर बनाउन सक्छ र उनीहरूलाई ब्रिक्स नेतृत्वका वैकल्पिक भुक्तानी प्रणालीतर्फ लाग्नका लागि बाध्य पार्न सक्छ ।
वार्शको मनोनयनको सबैभन्दा रोचक प्रतिक्रिया हार्ड मनी अर्थात् सुनचाँदी बजारमा देखिएको छ । फेड नेतृत्वको अस्थिरताले लगानीकर्ताहरूलाई सुन र चाँदीतर्फ धकेल्ने तन्वी रत्नाको तर्क छ ।
वार्शको मनोनयनको केन्द्रमा एउटा विरोधाभास छ । एकातिर, उनी मुद्रास्फीति मन नपराउने व्यक्ति हुन् । अर्कोतिर, उनी ट्रम्प जस्तै विघटनकारी (डिसरप्टर) हुन् जसले फेडको परम्परागत स्थिरतालाई कमजोर पार्न सक्छन् । यो अनिश्चितता बहुमूल्य धातुहरूका लागि रकेट इन्धन जस्तै भएको विश्लेषकहरू बताउँछन् ।
विश्वले फेडमा राजनीतीकरण भएको महसुस गरेमा अमेरिकी डलरमाथिको पूर्ण विश्वास र साखमाथि प्रश्न उठ्नेछ । यस्तो अवस्थामा सुन वस्तु मात्र रहँदैन । त्यो नयाँ अमेरिकी आर्थिक व्यवस्थामाथिको विश्वासको कसी बन्नेछ ।
फेड अध्यक्षमा वार्शको मनोनयन महाशक्ति प्रतिस्पर्धाको भूराजनीतिक अवधारणासँग पनि जोडिन्छ । चीन र रुसले आक्रामक रूपमा गैरडलरीकरणतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् । ट्रम्पको ‘पहिले अमेरिका’ एजेन्डालाई अघि बढाउने पात्रका रूपमा हेरिएका भविष्यका फेड अध्यक्षले गैरडलरीकरणको प्रवृत्तिलाई तीव्र बनाउन सक्छन् ।
अमेरिका प्रथम र बजारमुखी कडा मौद्रिक नीति वार्शले अपनाएमा नेपाल जस्ता आयातमा आधारित र डलरमा निर्भर साना अर्थतन्त्रहरूले मूल्यवृद्धि र बाह्य क्षेत्रको सन्तुलन कायम राख्न ठूलो चुनौती सामना गर्नुपर्ने देखिन्छ
तर, यसको विपरीत तर्क पनि छ । वार्शले उच्च आर्थिक विकास र उच्च नवप्रवर्तनयुक्त अमेरिकी अर्थतन्त्रलाई प्रोत्साहन दिन सफल भएमा डलर अझ बढी अपरिहार्य बन्न सक्छ । पुँजी त्यहीँ जान्छ जहाँ त्यसलाई राम्रो व्यवहार गरिन्छ । वार्शले अमेरिकी हाइपर–ग्रोथको अवधिलाई नेतृत्व गरेछन् भने वाशिङटनबाट आउने राजनीतिक बयानबाजीको बावजुद युरो र युआन झन् कमजोर देखिन सक्छन् ।
वास्तवमा, केभिन वार्शलाई फेडरल रिजर्भको अध्यक्षका रूपमा मनोनयन गर्नु मौद्रिक यथार्थवादमा उच्च जोखिमयुक्त प्रयोग हो । यसले आधुनिक फेडको मोडलमा सञ्चालित संसारबाट टाढा गएर बढी गतिशील, बजार–केन्द्रित र सम्भवतः थप राजनीतीकृत युगतर्फको कदमलाई प्रतिनिधित्व गर्छ ।
अमेरिकी अर्थव्यवस्थाका लागि वार्श युगले तीव्र गतिविधिको संकेत दिन्छ । आर्थिक वृद्धिमा केन्द्रित नीतिका साथै ह्वाइट हाउस र केन्द्रीय बैंकबीचको संघर्षको अन्त्य हुन लागेको यसले इंगित गर्छ । विश्वका लागि भने यसले गहिरो अनिश्चितता जगाएको छ ।
नेपाललाई कस्तो असर पर्छ ?
वार्शको नीतिले अमेरिकी डलरलाई थप बलियो बनाउने सम्भावना रहन्छ । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेग भएकाले डलर बलियो हुँदा नेपाली रुपैयाँको अवमूल्यन हुन्छ । यसले गर्दा पेट्रोलियम पदार्थ, मशिनरी र औद्योगिक कच्चा पदार्थ जस्ता आयातित वस्तुहरू महँगो भई नेपालमा मूल्यवृद्धि हुन सक्छ ।
त्यसैगरी, डलरको भाउ बढ्दा नेपालले लिएको वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानीको भार बढ्छ । त्यसले सरकारको बजेट र वैदेशिक मुद्रा सञ्चितिमा दबाब सृजना गर्छ । तर, डलर बलियो हुनु रेमिट्यान्स पठाउनेका लागि सकारात्मक देखिए पनि आयातको बढ्दो लागतले त्यसको वास्तविक लाभलाई घटाइदिन्छ ।
वार्शको कार्यकालमा हुने नीतिगत अनिश्चितताले विश्व बजारमा सुन र चाँदीको माग बढाउन सक्छ । नेपालमा सुनको ठूलो सांस्कृतिक र लगानीजन्य माग रहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्थानीय बजारमा पनि सुनको भाउ अहिलेको भन्दा बढी आकाशिन सक्छ ।
अमेरिका प्रथम र बजारमुखी कडा मौद्रिक नीति वार्शले अपनाएमा नेपाल जस्ता आयातमा आधारित र डलरमा निर्भर साना अर्थतन्त्रहरूले मूल्यवृद्धि र बाह्य क्षेत्रको सन्तुलन कायम राख्न ठूलो चुनौती सामना गर्नुपर्ने देखिन्छ ।








प्रतिक्रिया