
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) प्लेअफको अघिल्लो राति ११ बजे मात्र पारस लुनियाँ अन्तर्वार्ताका लागि बस्न भ्याए । विराटनगर किङ्सका सह-मालिक लुनियाँ त्यो साँझ फ्रेन्चाइज सम्बन्धी विभिन्न जिम्मेवारी पूरा गर्न व्यस्त थिए । त्यही बेला उनको फोन फेरि बज्यो, एक प्रायोजक पोडकास्ट तय गर्न इच्छुक थिए ।
एनपीएलका केही खेलका लागि फाफ डु प्लेसिसलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेपछि लुनियाँको फोन लगातार बजिरहन्छ । किङ्स प्लेअफमा पुगेपछि त्यो चासो झनै बढ्न गयो । ‘अब दुई खेल मात्र बाँकी छन्, तर प्रायोजकको चासो विश्वास नै गर्न नसक्ने गरी बढेको छ,’ लुनियाँले भनेका छन् ।
उनले राजनीतिज्ञ, सेलिब्रिटी, परिवार, साथी र चिनजानका साथीहरूबाट आएका व्हाट्सएप म्यासेजहरूको ओइरो देखाउँछन् । सबैको एउटै माग छ–टिकट । सिट वा गेस्ट कुन हो भन्नेमा उनीहरूलाई खासै मतलब छैन, जति सकिन्छ त्यति नै मिलाइदिन अनुरोध गर्छन् । फाफ डू प्लेसिसले खेलेको पहिलो खेलमा नै टिकट सोल्ड आउट भएको थियो ।
त्यो रात लुनियाँको चिन्ता टिकट मात्र थिएन । फाफलाई एक झलक देख्न टिम बसेको होटलमै ठूलो संख्यामा समर्थक जम्मा हुन थालेपछि सुरक्षा व्यवस्थापनमा सुरक्षा निकाय व्यस्त बन्यो । अन्ततः अव्यवस्था टार्न दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसलाई काठमाडौं बाहिरको एक लक्जरी रिसोर्टमा सार्ने अन्तिम क्षणको निर्णय गरियो ।
डु प्लेसिस वरिपरि पाँच मिनेट बिताउँदा पनि उनी एनपीएल वरिपरि फैलिएको उन्मादको केन्द्र बनेको प्रस्ट हुन्थ्यो । त्यो साता भएका हरेक विराटनगर किङ्सका खेलमा उनलाई स्वागत गर्ने विशाल ब्यानर देखिन्थ्यो । स्ट्यान्डबाट ‘आरसीबी, आरसीबी’ भन्ने नारा गुञ्जिन्थ्यो ।
यी नारा नेपालस्थित आरसीबी फ्यान क्लबका हुन् । सन् २०२३ को अन्त्यतिर केही साथीहरूले दर्ता गराएको यो क्लबका इन्स्टाग्राममा सन् २०२५ डिसेम्बरमा भएको एनपीएल प्लेअफसम्म ४० हजारभन्दा बढी फलोअर थिए । गत वर्षको आईपीएल फाइनलको अघिल्लो दिन रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक उपाधि जितेपछि यो संख्या तीन गुणाले बढेको थियो ।
फ्यान क्लब अहिले १३ सदस्यीय बोर्डसहित व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ । अध्यक्ष, सचिव, मिडिया तथा पीआर हेर्ने दुई जना, मार्केटिङ र समुदाय सम्पर्क हेर्ने सदस्यहरू छन् । हरेक खेलअघि समर्थकलाई कुन जोनका टिकट लक्षित गर्ने भन्ने निर्देशन पठाइन्छ । माग आपूर्तिभन्दा धेरै हुँदा धेरैजसो समर्थक जहाँ सिट पाइन्छ त्यहीँ बस्छन् । तर उनीहरू सधैं लाल पोसाकमा, ठूलो संख्यामा, निरन्तर नाराबाजी गर्दै पुग्छन् ।
आईपीएलमा फाफले आरसीबीभन्दा चेन्नई सुपर किङ्ससँग बढी समय बिताएका भए पनि नेपालमा उनी आरसीबीका ‘सुपरहिरो’ हुन् । यो लगाव अत्यन्त व्यक्तिगत देखिन्छ ।
विराटनगर किङ्सका मालिकहरूले फ्यान क्लबलाई आफ्ना स्टार भेट्न सहयोग गरे । क्वालिफायर–१ मा पराजित भएको भोलिपल्ट र एलिमिनेटरको अघिल्लो दिन करिब २० जना फ्यान क्लब सदस्य टिम होटल पुगे । उनीहरूले आरसीबी जर्सी लगाएको फाफको फ्रेम गरिएको तस्बिरसहितको मायाको चिनो लिएर आएका थिए ।

एक घण्टाभन्दा बढी पर्खिएपछि भेट करिब एक मिनेटभन्दा अलिकति बढी मात्र भयो । समूह फोटो खिचियो, फाफले केही अटोग्राफ दिए । केही समर्थकले हस्ताक्षरकै बीच सेल्फी खिचे । त्यसपछि फाफले उपहार साइडमा राखे र डिनरका लागि हिँडे।
समर्थकहरू अत्यन्तै खुसी देखिन्थे । उनीहरूले आफ्नो लिजेन्ड भेटे, फोटो र हस्ताक्षर लिए, सम्झनाहरू बनाए । सय सेकेन्डभन्दा कम समय भेट भए पनि त्यो उनीहरू वर्षौं सम्झिरहने क्षण बन्नेछ ।
यो जोश केवल अन्तर्राष्ट्रिय स्टारप्रतिको मात्र हो कि ? उत्तर हो–होइन ।
एनपीएल फाइनलको अघिल्लो दिन काठमाडौंको रोहित पौडेलको क्याफे ‘१७ बिन्स’ समर्थकले भरिन थाल्यो । लुम्बिनीबाट उनीहरू होम फ्रेन्चाइज लुम्बिनी लायन्सलाई फाइनलमा नेतृत्व गरेको हेर्न आएका थिए । उनीहरू बस्न नपाउँदै फोटो खिच्न समर्थकको लाइन लाग्यो । पौडेलले सबैसँग फोटो खिचेपछि आमाबुबासँग बसे र आफ्नो मनपर्ने हट चकलेट मोका अर्डर गरे-हामीलाई पनि चाख्न सुझाव दिए ।
दश वर्षअघि पौडेलसँगै बस्दै प्रशिक्षण लिएका कुशल भुर्तेलले यो दीवानगी समर्थक र खेलाडी दुवै रूपमा देखेका छन् ।
सुरुवाती असफलताको पीडालाई उनले ‘सानो भाइ’लाई प्रशिक्षण दिएर सामना गरे । भारतसँग खेल्ने सपना बोकेका भुर्तेलको जुनून २०२३ को विश्वकप छनोट खेलकै दिन चरममा देखियो । पाँच दिनअघि आमालाई गम्भीर चोट लागेर काठमाडौं ल्याइएको थियो । पौडेलले आमासँगै बस्न सुझाव दिए पनि भुर्तेल खेल्न आए र शतक बनाए ।
‘क्रिकेटका जुनून’ भुर्तेल भन्छन्, ‘दुखको बेला पनि आमाले जाऊ, खेल बहिनी मसँग छ । मेहनत गरेको छौं, देशको नाम चम्काऊ भन्नुभयो ।’ आज पूर्ण रूपमा निको भएकी आमा भरिभराउ स्टेडियममा छोरो खेल्दा सबैभन्दा खुसी हुन्छिन् ।
भारतजस्ता क्रिकेट लोकप्रिय देशबाट आएका खेलाडीसमेत यो जोश देखेर अचम्मित छन् । एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने पूर्व भारतीय घरेलु विकेटकिपर ब्याटर शेल्डन ज्याक्सन जहाँ गए पनि भीडले घेथ्र्यो । ‘मेरो आईपीएल करियरमा पनि यस्तो ध्यान पाएको थिइनँ,’ उनी भन्छन्, ‘समर्थकले मेरो घरेलु क्रिकेटका इनिङ्स र स्टम्पिङसम्म सम्झिन्थे ।’

यी सबै कुराले क्यानमा कार्यरत पूर्व कप्तान पारस खड्कालाई अचम्मित बनाउँदैन । उनी एनपीएललाई विश्वभरका खेलाडी भित्र्याउने र पर्यटन प्रवद्र्धन गर्ने प्लेटफर्मका रूपमा विकास गर्न चाहन्छन् । प्लेअफअघिको रात एभरेस्ट होटलमा खेलाडी होइन, कमेन्टेटर एन्ड्र्यु लेनर्ड (‘तक्लु दाइ’) सँग सेल्फीको भीड देखिनु पनि यही संस्कृतिको उदाहरण हो ।
खड्का एनपीएल व्यवस्थापनमा व्यस्त छन् । क्यानको सचिवका रूपमा उनको काम दिनमा १४ घण्टासम्म लम्बिन्छ । ‘मन्त्रालय, प्रायोजक, मालिक, खेलाडी… २४ घण्टा पनि नपुग्ने जस्तो लाग्छ,’ उनी भन्छन् । एनपीएल दीर्घकालीन लगानी मोडेलमा अघि बढेको बताउँदै हरेक फ्रेन्चाइजले प्रशिक्षण र स्काउटिङमा ठूलो लगानी गरेको उनले बताए ।
व्यावसायिक रूपमा एनपीएलको प्रतिक्रिया अपेक्षाभन्दा ठूलो छ । हरेक टिमसँग ६–७ ब्रान्ड पार्टनर छन् । लिगसँगै १५–१७ ब्रान्ड आबद्ध छन् । एकै प्रतियोगितामा करिब १०० ब्रान्ड संलग्न हुनु नेपाली क्रिकेटको मूल्य बढेको प्रमाण हो । यही प्रभावका कारण सरकारबाट त्रिवि मैदानलाई १२ हजार दर्शक क्षमताको आधुनिक रंगशालामा रूपान्तरण गर्न बजेट स्वीकृत भएको छ ।
एनपीएलको प्रभाव मैदानभित्र मात्र होइन, खेलाडीको जीवनमा पनि देखिन थालेको छ । कर्णाली याक्सबाट खेलेका नन्दन यादव एनपीएलपछि एकदिवसीय टिममा डेब्यु गर्दै टी–२० विश्वकप टोलीसम्म पुगे । सेर मल्ला उदाउँदो खेलाडी बनेर लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण बने । खड्काका अनुसार अब बच्चाले नेपाली खेलाडी गुगल गरेर भविष्य देख्न सक्छ ।
आर्थिक सुरक्षा, प्रायोजन र अवसर । आधारभूत सम्झौतामा युवा खेलाडीले ३–५ लाख रुपैयाँ पाउँछन् भने स्थापित खेलाडीले १५–२० लाख रुपैयाँसम्म कमाउँछन् । यसले अफ–सिजनमा पनि अभ्यास गर्ने प्रेरणा दिएको छ ।
विश्वकपतर्फ हेर्दा खड्कालाई अहिले नै टिकटको मागले हैरान पारेको छ । ‘२०२४ मा डलासमा नेदरल्यान्ड्सविरुद्ध खेल्दा काठमाडौंमै खेलेझैं लाग्यो,’ उनी भन्छन्, ‘तेस्रो विश्वकपमा हामी मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि आफ्नो उपस्थिती देखाउन चाहन्छौं ।’
(ईएसपीएन क्रिक इन्फोका सिनियर कोरेस्पोन्डेन्ट शशांक किशोरेको लखेको अनुवाद )








प्रतिक्रिया