नवा नेक्स टेकद्वारा नेपालको पहिलो सुपर एप ‘एनच्याट’ सार्वजनिक, यस्ता छन् फिचर


काठमाडौं । नवा नेक्स टेकले आज काठमाडौंको केएमसी कलेजमा आयोजित विशेष कार्यक्रममार्फत नेपालको पहिलो सञ्चार–केन्द्रित सुपर एप ‘एनच्याट’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

तत्कालैदेखि एनच्याट एन्ड्रोइड र आईओएस प्लेटफर्ममा डाउनलोडका लागि उपलब्ध छ, जसबाट नेपाल तथा विदेशमा रहेका प्रयोगकर्ताले तुरुन्तै एप प्रयोग गर्न सक्नेछन् ।

एनच्याट करिब ११ महिनाको समर्पित विकास प्रक्रियापछि नेपालमै तयार गरिएको हो । यो एप सीपीएस मोडेलमा आधारित छ, जसले प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा सञ्चार, भुक्तानी र सेवाहरू सहज रूपमा प्रयोग गर्ने सुविधा दिन्छ ।

यसमा सन्देश आदान–प्रदान, अडियो–भिडियो कल, भ्वाइस नोट, र रियल–टाइम अनुवादजस्ता सुविधाहरू छन् । त्यसै संवादबाट प्रयोगकर्ताले भुक्तानी गर्न, सेवा बुक गर्न, किनमेल गर्न र विभिन्न कार्यहरू तत्काल गर्न सक्नेछन् ।

नवा नेक्स टेकका संस्थापक तथा सीईओ धीरेन हमालका अनुसार, “एनच्याट नेपाली यथार्थलाई समेटेर बनाइएको सरल, छिटो र भरपर्दो प्लेटफर्म हो, जसले दैनिक जीवनका धेरै आवश्यक सेवाहरूलाई एउटै स्थानमा उपलब्ध गराउँछ।”

समावेशी र पहुँचयोग्य सुविधा
एनच्याटले सबै उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दछ । टाइप गर्न वा पढ्न कठिनाइ हुने प्रयोगकर्ताका लागि टेक्स्ट–टु–अडियो, भ्वाइस–टु–टेक्स्ट र अंग्रेजी–नेपाली रियल–टाइम अनुवाद जस्ता सुविधाहरू उपलब्ध छन् । निकट भविष्यमा अन्य स्थानीय भाषाहरू थप्ने योजना पनि रहेको छ ।

मिनी एप र व्यवसाय डिजिटलाइजेशन
एनच्याटको प्रमुख विशेषता यसको इन–एप एप स्टेर र मिनी एप इकोसिस्टम हो, जसबाट स्टार्टअप र स्थानीय व्यवसायीहरूले कुनै कोडिङ बिना, डार्ग एन्ड ड्रप विधिबाट केही मिनेटमै आफ्नो मिनि एप पेज तयार गरी उत्पादन प्रदर्शन गर्न, ग्राहकसँग प्रत्यक्ष संवाद गर्न र अर्डर लिन सक्नेछन्।

नवा नेक्स टेकका सीटीओ चार्ल्स शाहीका अनुसार, “एनच्याटले उद्यमीहरूलाई छिटो रूपमा अनलाइन आउन र ग्राहकसँग प्रत्यक्ष जोडिन सशक्त बनाउँछ।”

पूर्व उपकुलपति तथा वरिष्ठ प्राध्यापक डा. नन्दबहादुर सिंहले एनच्याटले नेपालमा डिजिटल समाज निर्माणतर्फ योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै नीति तथा कानुनी संरचना विकाससँगै सोसाइटी ०.५ तर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

आईडीयो स्टुडियो नेपालका चिफ एक्जुकेटिभ डिरेक्टर डा. छिरिङ शेर्पाले प्राविधिक उत्पादनको सुरुवाती चरणमा केही चुनौती आउन सक्ने भए पनि निरन्तर सुधार गर्दै अघि बढ्नुपर्ने बताउँदै, नेपालमै बनेको राष्ट्रिय उत्पादन प्रयोग र समर्थन गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा लञ्च भिडियो प्रिमियर, नेतृत्वद्वारा प्रस्तुतीकरण, लाइभ डेमो, र प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो । त्यसपछि नेटवर्किङ तथा मिडिया इन्टरएक्सन पनि सम्पन्न भएको थियो ।

Skip This