
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गरिनुपर्ने बताए ।
‘यसका लागि सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण छ । निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्छ’, उनले भने ।
सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि, ‘डिजिटल प्लेटफर्म’ र बढ्दो जनअपेक्षालाई आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहेको उनले बताए।
सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको नेपाल टेलिभिजनको ४१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको बताए ।
‘परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पु¥याउने अवसर पनि हो’, उपराष्ट्रपति यादवले भने, ‘सरकारी सञ्चारमाध्यमको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने हो ।’
पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको जनाउँदै उपराष्ट्रपतिले समाजमा सत्यतथ्य, निष्पक्षता र जनताको आवाजलाई उजागर गर्ने जिम्मेवारी पत्रकारिताले गर्दै आएको बताए ।
‘पत्रकारितामा समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व हुनु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको आधारभूत सर्त हुन’, उनले भने, ‘कुनै पनि समुदाय वा नागरिकको आवाज उपेक्षित हुनु लोकतन्त्रको आत्मालाई कमजोर बनाउने कार्य हो । त्यसैले पत्रकारिता सबै वर्ग, भाषा, संस्कृति र भौगोलिक क्षेत्रलाई समान अवसरसहित प्रतिनिधित्व गर्ने माध्यम बन्नुपर्छ ।’
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले अन्तरराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकताका आधारमा सार्वजनिक प्रसारण संस्थाहरु सञ्चालनमा रहेको बताए ।
राष्ट्रिय प्रसारकका रुपमा जनतालाई केन्द्रबिन्दुमा राखेर सार्वजनिक प्रसारणलाई अघि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय एकता, समृद्धि र विपद्मा नागरिक रक्षालाई प्रमुख आधार मानेर सार्वजनिक प्रसारण संस्थाका विषयवस्तु निर्माण हुँदै आएको स्पष्ट पारे ।








प्रतिक्रिया