
काठमाडाैं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल पर्यटन बोर्ड र बुद्ध एयरको सहकार्यमा भारतको वाराणसीस्थित द क्लार्क वाराणसी होटलमा ‘‘नेपाल–वाराणसी रोडशो” कार्यक्रम आयोजना गर्यो । यस रोडशोको उद्देश्य भारतबाट नेपालमा थप पर्यटकहरू आकर्षित गर्दै नेपाली पर्यटन प्रवद्र्धन गर्नु रहेको थियो ।
नेपाल–भारत सम्बन्धका विभिन्न आयामहरू महत्वपूर्ण मानिन्छन् । विशेषगरी धार्मिक पर्यटनका माध्यमबाट नेपाल र भारतबीच गहिरो सांस्कृतिक, आध्यात्मिक तथा ऐतिहासिक सम्बन्ध रहेको छ । पवित्र शिव सर्किट (पशुपतिनाथ, मुक्तिनाथ, केदारनाथ, बनारस) बौद्ध सर्किट (लुम्बिनी, बोधगया, कुशीनगर, सारनाथ) तथा सिख सर्किटले यी दुई देशबीच प्राकृतिक आध्यात्मिक र पर्यटन पुलको रूपमा काम गरेका छन् ।
यस्ता साझा सांस्कृतिक तथा धार्मिक सम्पदाका बाबजुद पनि नेपालले भारतको विशाल बाह्य पर्यटन बजारको पूर्ण उपयोग गर्न सकेको छैन । भारत नेपालका लागि पर्यटक आगमनको सबैभन्दा ठूलो स्रोत भए तापनि उच्च संख्यामा पर्यटक भित्र्याउने, लामो समयसम्मको बसाइ र पुनः भ्रमण गराउने सम्भावना अझै उल्लेखनीय रूपमा बाँकी नै छन् ।
हालैको तथ्यांकअनुसार सन् २०२४ मा नेपालले करिब ११.५ लाख पर्यटकलाई स्वागत गरेको छ, जसले कोभिड–१९ पछिको अवधिमा नेपालको पर्यटन उद्योग क्रमशः पुनःस्थापित हुँदै गएको देखाउँछ ।
यद्यपि भारतबाट आउने पर्यटकको संख्यामा भने केही गिरावट देखिएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) द्वारा सार्वजनिक गरिएको पछिल्लो तथ्यांकअनुसार जनवरीदेखि डिसेम्बर २०२४ सम्मको अवधिमा हवाई मार्गबाट कुल ११ लाख ४७ हजार ५६७ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्, जुन सन् २०२३ को १०,१४,८१७ को तुलनामा ८.८ प्रतिशतले वृद्धि हो ।
समग्र अन्तर्राष्ट्रिय पर्यटक आगमनमा वृद्धि भए तापनि भारतीय पर्यटकको संख्या ०.६८ प्रतिशतले घटेको छ । पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२४ मा हवाई मार्गबाट ३ लाख १७,७७३ भारतीय पर्यटक नेपाल आएका थिए, जुन सन् २०२३ मा ३ लाख १९ हजार ९३६ थियो ।
सरकारले सन् २०२४ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि वास्तविक आगमन सो लक्ष्यभन्दा कम रह्यो । कोभिड–१९ महामारीका कारण आएको गिरावटबाट पर्यटन उद्योग प्रायः पुनःस्थापित भए पनि आगामी वर्षहरूमा थप पर्यटक आकर्षित गर्न अझै प्रयास आवश्यक देखिन्छ ।
भारतमा आयोजना गरिएको नेपाल–वाराणसी रोडशो जस्ता प्रवद्र्धनात्मक पहलहरूले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यस अभियानले हिन्दू धार्मिक तीर्थयात्रीहरूलाई पशुपतिनाथ मन्दिर दर्शनसहित चारधाम यात्रामा नेपाललाई समावेश गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट बौद्ध तीर्थयात्रा सुरु गर्ने पहलले नेपालमा बौद्ध धार्मिक तीर्थ पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान र्पुयाउने विश्वास गरिएको छ। यस कारण वाराणसी रोडशोलाई आगामी दिनहरूमा भारतबाट थप पर्यटक नेपाल भित्र्याउने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष कुणाल कयालले नेपाल र भारतबीचको सम्बन्ध केवल भूगोल वा व्यापारमा सीमित नभई वाराणसीको काशी विश्वनाथ र काठमाडौंको पशुपतिनाथलाई जोड्ने साझा आस्थामा आधारित रहेको उल्लेख गरे । उनले यी दुई मन्दिर केवल दुई धार्मिक स्थल मात्र नभई शताब्दीयौंदेखि जनतालाई एकताबद्ध गर्दै आएको एउटै पवित्र सूत्रका दुई छेउ भएको बताए ।
उनले थप भने कि हाम्रो आध्यात्मिक भौगोलिक सम्बन्ध अझ गहिरो छ, किनकि हामी बौद्ध सर्किटका संरक्षक हौं, जसले लुम्बिनीस्थित जन्मस्थलदेखि सारनाथमा पहिलो उपदेशसम्म बुद्धका पदचिन्ह पछ्याउंछ ।
गुरु नानक देवजीको हिमालयदेखि मैदानसम्मका यात्रालाई सम्मान गर्ने सिख सर्किटमार्फत पनि हामी जोडिएका छौं । चाहे गंगामा स्नान होस् वा बागमतीमा, हाम्रा संस्कृतिहरू सधैं एक–अर्काको प्रतिबिम्ब बनेका छन् ।
रोडशोको उद्देश्य स्पष्ट पार्दै उपाध्यक्ष कयालले भने ‘आजको हाम्रो लक्ष्य यी प्राचीन मार्गहरूलाई आधुनिक, सहज धार्मिक तथा आध्यात्मिक सर्किट मा रूपान्तरण गर्नु हो ।’ काशीमा बिहान सुरु गर्ने आरतीसंगै भक्तजनले सहजै हिमालयको काखमा रहेको पशुपतिनाथमा आफ्नो अर्र्काे प्रार्थनाको कल्पना गर्न र त्यहां पुग्न सकून् भन्ने हाम्रो चाहना हो ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का पूर्व अध्यक्ष श्रीजना राणाले नेपाल र भारतबीचका पांच धार्मिक सर्किटबारे आफ्नो महत्वपूर्ण प्रस्तुति दिइन् । यी सर्किटहरू ‘‘रिलिजियस एण्ड स्पिरिच्युएल सर्किट, नेपाल एण्ड इण्डिया” नामक कफी टेबल बुकमा समेटिएका छन् जुन आज वाराणसी रोडशोमै विमोचन पनि गरियो ।
नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले आफ्नो प्रस्तुतिमार्फत भारतीयसहित अन्तर्राष्ट्रिय पर्यटकहरूले नेपाल हेर्न, महसुस गर्न – जहां समय रोकिन्छ” भन्ने हरफका साथ नेपाल कीन भ्रमण गर्ने भन्ने वारे चर्चा गरे । उनले नेपाललाई तीन शब्दमा व्याख्या गरे ‘ रहस्य, इतिहास र आतिथ्यता । जहां रहस्य हुन्छ, त्यहां इतिहास हुन्छ, र जहां इतिहास हुन्छ, त्यहां आतिथ्यता हुन्छ र यही नै नेपालको पहिचान भएको र यही कारण अन्तर्राष्ट्रिय पर्यटकहरूले नेपाल भ्रमण गर्नुपर्ने छ ।’
रोडशोका मुख्य वक्ता विनोद कुमार चौधरीले नेपालमा रहेका त्यस्ता सम्भावना र विशेषताहरूको चर्चा गरे । जुन अन्य अन्य धेरै देशहरुमा दुर्लभ छन् । धार्मिक तथा आध्यात्मिक पक्ष, प्राकृतिक सौन्दर्य, हिमाल, ताल, वन्यजन्तु, मौसम र सबैभन्दा महत्वपूर्ण अतिथि सत्कारमा अग्रणी नेपाली जनता – यी सबै नेपालका विशेषता भएको र यही हाम्रो वास्तविक शक्तिको रुपमा रहेको र यसैको बलबुत्तामा देशलाई आर्थिक रूपमा सशक्त बनाउन सकिने उनले बताए ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का कार्यकारिणी समिति सदस्य श्री शशी कान्त अग्रवालले समापन मन्तव्य दिंदै नेपाल–वाराणसी रोडशोलाई संघले नेपाल बाहिर पहिलो पटक आयोजना गरेको कार्यक्रम भएको उल्लेख गरे।








प्रतिक्रिया