पहिलो चरणमा ११ अर्ब लगानी गरेर केएल दुगड र हुलास ग्रुपले स्टिल उद्योग खोल्दै


काठमाडौं । केएल दुगड र हुलास ग्रुपको संयुक्त लगानीमा प्राइम स्टिल उद्योग बन्ने भएको छ । कम्पनीले स्टिल उत्पादन गर्ने उद्देश्यसहित उद्योग निर्माण गर्ने भएको हो ।

उक्त उद्योगले वार्षिक ६ लाख ५० हजार मेट्रिक टन क्षमतामा स्टिल उत्पादन गर्ने छ ।

सन् २०२२ मा स्थापना भएको कम्पनीले दुई चरणमा प्राइम स्टिल उद्योग निर्माण गर्ने जनाएको छ ।

पहिलो चरणमा कम्पनीले एचआर स्ट्रिप उत्पादन गर्ने गरी उद्योग निर्माण गर्नेछ । उक्त उद्योगबाट वार्षिक ३ लाख ५० हजार मेट्रिक टन क्षमतामा उत्पादन हुने छ । पहिलो चरणको उद्योग निर्माणका लागि मात्रै ११ अर्ब रुपैयाँ खर्च हुने अनुमान कम्पनीको छ ।

कम्पनीले लगानीको अनुपात ७५:२५ राखेको छ । हालसम्मम १५ प्रतिशत आर्थिक प्रगति भएको कम्पनीले जनाएको छ । जसमा कम्पनीको कर्जाको व्यवस्थापन भइरहेको छ भने इक्वीटीको २८ प्रतिशत रकम व्यवस्थापन भइसकेको रेटिङमा उल्लेख छ ।

सौरभ दुगडको ३३ प्रतिशत र चन्द्रकुमार गोल्छाको १६ प्रतिशत स्वामित्व रहेको कम्पनीले उद्योग सञ्चालनका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि करिब साढे ११ रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको हो ।

पहिलो चरणको उद्योग निर्माण गरी सन् २०२७ को नोभेम्बरबाट व्यवसायिक कारोबार सुरू गर्ने कम्पनीले अनुमानग गरेको छ ।