सिटिजन्स बैंकको खुद नाफा ३५ करोड रूपैयाँ, नोक्सानी व्यवस्था बढ्दा दबाब


काठमाडौं । सिटिजन्स बैंकको नाफा घटेको छ । कर्जा नोक्सानी व्यवस्था बढेपनि खुद ब्याज आम्दानी सामान्य बढेको छ । तर फि एन्ड कमिसन आम्दानी बढ्न नसक्दा बैंकको नाफा घटेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म सिटिजन्स बैंकले ३५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४५.७७ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.२७ प्रतिशत बढेको छ । गत आवको यही अवधिमा ३ अर्ब ७ करोड ४६ लाख रूपैयाँ रहेको बैंकको खुद ब्याज आम्दमनी बढेर ३ अर्ब १४ करोड ४५ लाख रूपैयाँ पुगेको हो । खुद फि तथा कमिसन आम्दानी ३.२४ प्रतिशत घटेर ६२ करोड ३८ लाख रूपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशत बढेर ५ अर्ब ११ करोड ८७ लाख रूपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम १ अर्ब ३८ करोड ५४ लाख रुपैयाँबाट बढेर १ अर्ब ८३ करोड २८ लाख रुपैयाँ पुगेको छ । सोही कारण बैंकको आम्दानी केही बढे पनि सञ्चालन मुनाफा र नाफा बढ्न सकेन । बैंकको सञ्चालन मुनाफा ४४.६८ प्रतिशतले घटेर ५० करोड ४२ लाख रूपैयाँमा झरेको छ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी घटेको छ। चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी ८ रूपैयाँ ९६ पैसा थियो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको वितरणयोग्य नाफा १ अर्ब १० करोड १३ लाख रूपैयाँ ऋणात्मक छ । बैंकले ब्याज उठाउन नसकेपछि ४५ करोड ९४ लाख नियामकीय जगेडा कोषमा जम्मा गरेको छ । बैंकको सञ्चित नोक्सानी १ अर्ब १० करोड ५ लाख रुपैयाँ रहेको छ ।

१५ अर्ब ५० करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड १७ रुपैयाँ छ । गत असार मसान्तमा २ खर्ब ११ अर्ब ५० करोड रूपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तसम्ममा बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप र कर्जा १ खर्ब ६८ अर्ब ८६ करोड रूपैयाँबाट बढेर १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँमा झरेको छ ।

बैंकको निष्क्रिय कर्जा ६.८६ प्रतिशत, प्राथमिक पुँजीकोष अनुपात ८.६९ प्रतिशत र आधार दर ५.६२ प्रतिशत छ।