एभरेष्ट बैंकले पुससम्म कमायो २ अर्ब १२ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?


काठमाडौं । एभरेष्ट बैंकको नाफा सामान्य बढेको छ । कर्जा नोक्सानी व्यवस्था बढे पनि खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानी बढेसँगै बैंकको नाफा पनि केही बढेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म एभरेष्ट बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ३१ करोड ५८ लाख रूपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ५७ करोड २९ लाख रूपैयाँ पुगेको हो । खुद फि तथा कमिसन आम्दानी २०.३८ प्रतिशत बढेर ९२ करोड १० लाख रूपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ४८ लाख रूपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ । सोही कारण बैंकको आम्दानीको तुलनामा सञ्चालन मुनाफा र नाफा बढ्न सकेन । बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशत बढेर ३ अर्ब १७ करोड १६ लाख रूपैयाँ पुगेको छ ।

नाफा बढेपनि बैंकले बोनस सेयरमार्फत पुँजी बढाउँदा प्रतिसेयर आम्दानी भने घटेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ८६ पैसामा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी ३२ रूपैयाँ ६ पैसा थियो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा वितरणायोग्य नाफा १ अर्ब ३ करोड ८६ लाख मात्रै छ । ब्याज बक्यौताका कारण बैंकले १७ करोड ३७ लाख रूपैयाँ नियामकीय जगेडा कोषमा जम्मा गरेको छ। बैंकको सञ्चित नाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा छ ।

१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ छ । गत असार मसान्तमा २ खर्ब ९८ अर्ब ८२ करोड रूपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तसम्ममा ३ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ र कर्जा २ खर्ब १३ अर्ब ४४ करोड रूपैयाँबाट बढेर २ खर्ब ३६ अर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा ०.६६ प्रतिशत, प्राथमिक पुँजीकोष अनुपात ९.६० प्रतिशत र त्रैमासको औसत आधार दर ४.७५ प्रतिशत छ ।