
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।
नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टी विरुद्ध गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानि गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिए । जसअन्तर्गत निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) उल्लङ्घन गरेको हो वा होइन भनी उहाँलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
त्यसैगरी श्रम संस्कृति पार्टीलाई पनि आयोगले दलको लोगो, नाम, चिह्न र उम्मेदवारको तस्बिर अङ्कित टिसर्ट लगाई बालबालिकाको प्रयोग गरेर आचारसंहिताको उल्लङ्घन गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको छ । यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लङ्घन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा निकोलस) लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेनजी आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दुरुपयोग भएको भनी उजुरी पर्न आएकाले आयोगले स्पष्टीकरण सोधेको छ ।
नेपाल स्वास्थ्य स्वयम्सेवक सङ्घलाई ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने विषयको उजुरी प्राप्त भएकाले यसमा के कसो भएको हो ? कुन मितिमा अधिवेशन गर्न लागेको हो भनेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले स्वास्थ्य स्वयम्सेवक सङ्घलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।
आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई विद्यालयमा कार्यरत बालविकास शिक्षिका सन्तोषी गुप्तालाई एवं जोरजुलम करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने व्यहोराको उजुरी प्राप्त भएकाले यस विषयमा के कसो भएको हो ? भनी स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार सो विद्यालयलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ । विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
मधेसी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएकाले कारबाही गरी पाऊँ भन्ने विषयको उजुरी पर्न आएकाले उजुरीमा उल्लेख गरिएजस्तो अभिव्यक्ति दिएको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको हो । यसबाट नेपालको संविधानको धारा १८, निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ), सोही आचारसंहिताको दफा १३ को उपदफा (१) को (ञ), मुलुकी अपराधसंहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को पनि उल्लङ्घन भएको हो होइन भनी आयोगले बस्नेतसँग जवाफ माग गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई सार्वजनिक बहसका लागि एमाले अध्यक्षले सामाजिक सञ्जालमा राखेको विषयमा लेखेको प्रतिक्रियाका बारेमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
आयोगले यसअघि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दल, उम्मेदवार, सामाजिक संस्था, सरकारी निकायलगायत आठवटा निकायलाई स्पष्टीकरण सोधेको थियो । आजसमेत गरी आयोगले आचारसंहिता विपरीत काम गरेको उजुरी आएको भनी १५ वटा स्पष्टीकरण सोधेको छ । त्यसमध्ये हालसम्म एउटाको मात्र जवाफ प्राप्त भएको जनाइएको छ ।








प्रतिक्रिया