
एजेन्सी । भीषण हिउँदे आँधीले अमेरिकाभरि ठूलो आर्थिक क्षति पुर्याइरहेको छ ।
यसले पारेको अर्बौं डलरको प्रभाव गणना गर्न विज्ञहरूलाई गाह्रो भइरहेको छ ।
केही अनुमानहरूमाथि बहस भइरहेका बेला यातायात, विद्युत् प्रणाली र व्यापारिक सञ्चालनमा आएको अवरोधले व्यापक आर्थिक असर पारिरहेको छ । यसले मौसमी घटनाहरूप्रति अर्थतन्त्रको संवेदनशीलतालाई उजागर गरेको छ ।
बरफ, हिउँ र चिसोले पूर्वी अमेरिकाका धेरैजसो भागलाई ठप्प पारेको छ । घातक र व्यापक हिउँदे आँधीले अमेरिकी अर्थतन्त्रमा अर्बौं डलरको क्षति पुर्याइरहेको विज्ञहरूको अनुमान छ ।
तर कति? अर्थशास्त्री र मौसमविद्हरू हिउँदे मौसमका विपत्तिहरूबाट हुने अवरोधको लागत पत्ता लगाउने प्रयास गरिरहेका छन्, जुन आँधीबेहरी, बाढी र आगलागीबाट ध्वस्त भएका भवनहरूको क्षति गणना गर्नु जस्तो सजिलो छैन ।
‘यस्ता आँधीबेहरीले हाम्रो अर्थतन्त्र मौसमी अवस्थासँग कति धेरै अन्तःसम्बन्धित छ भन्ने कुरालाई स्पष्ट पार्छन् । प्रमुख यातायात केन्द्रहरू बन्द हुँदा वा विद्युत् प्रणाली (पावर ग्रिड) असफल हुँदा त्यसको क्रमिक प्रभावले एकैसाथ धेरै क्षेत्रहरूका आपूर्ति शृंखला र व्यापारिक सञ्चालनमा असर पुर्याउँछ,’ कोलोराडो स्टेट युनिभर्सिटीको कोअपरेटिभ इन्स्टिच्युट फर रिसर्च इन द एटमोस्फियरका अनुसन्धान अर्थशास्त्री जेकब फुक्सले भने ।
अनुसन्धाताहरूबीच यस विषयमा एकमत छैन । तर, धेरैजसो अनुमानहरूले सामूहिक रूपमा भीषण मौसमी घटनाहरूले वार्षिक रूपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म घटाउन सक्ने देखाएका छन् । त्यसलाई फुक्सले निकै उल्लेख्य भने ।
अमेरिकाको वार्षिक जीडीपी करिब ३० ट्रिलियन डलर रहेको अवस्थामा, त्यो नोक्सानी १५० अर्ब डलरदेखि ६०० अर्ब डलरसम्म हुनेछ ।
धेरैजसो अर्थशास्त्री, मौसमविद् र विपद् विज्ञहरूले यो सप्ताहान्तको आँधी र आगामी हप्ताको अत्यधिक चिसोको वास्तविक लागत अनुमान गर्न अहिले नै चाँडो हुने बताएका छन् । तर, निजी कम्पनी एक्युवेदरले ११ हजार ४०० उडानहरू रद्द गराउने यस आँधीको प्रारम्भिक क्षति अनुमान १०५ अर्ब डलरदेखि ११५ अर्ब डलरको बीचमा रहेको घोषणा गरेको छ । त्यस रकमलाई अन्य ६ जना विज्ञहरूले धेरै उच्च र अपर्याप्त विवरण भएको भन्दै उपहास गरेका छन् ।
‘यसको ठूलो हिस्सा वाणिज्यमा आउने अवरोध र विद्युत् कटौतीको लागतबाट आउँछ,’ एक्युवेदरका मुख्य मौसमविद् जोनाथन पोर्टरले चिसो ह्युस्टनमा आयोजित अमेरिकी मौसम विज्ञान समाजको वार्षिक सम्मेलनमा एसोसिएटेड प्रेसलाई बताए । ‘केही व्यवसायहरू दिनौंसम्म वा एक हप्ता वा त्यसभन्दा बढी समयका लागि बन्द हुनेछन् ।’
त्यसैले एक्युवेदरले यसलाई सबै कुरा ठप्प पार्ने आँधी भनेको छ, पोर्टरले भने । सोमबारसम्म यसले कम्तीमा २५ जनाको ज्यान लिइसकेको थियो ।
यसमा विद्युतीय तारहरू ढलाउने बरफका कारण लाखौं मानिसहरू बिजुलीविहीन हुनु, रुखहरूको क्षति, कारहरूको क्षति र ती सबै रद्द गरिएका उडानहरूलाई पनि जोड्नुपर्ने पोर्टरले बताए । उनले हवाई यात्रा पुनः सुरु गर्न र बिजुली सुचारु गर्न समय लाग्ने उल्लेख गरे ।
जलवायु अर्थशास्त्री एडम स्मिथ, जसले पहिले नेशनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशनको अर्बौं डलरको मौसम विपद् सूची सञ्चालन गर्थे, ले यस आँधीले सजिलै अर्बौं डलर खर्च गराउने र यो सन् २०२६ को देशको पहिलो अर्ब डलर बराबरको मौसम विपद् बन्ने बताए ।
तर स्मिथ, जो अहिले क्लाइमेट सेन्ट्रलमा वरिष्ठ जलवायु प्रभाव वैज्ञानिक हुन्, ले यो एक्युवेदरले सुझाव दिए जस्तो महँगो कुनै हालतमा नभएको बताए । यो निजी कम्पनी जलवायु प्रभाव र अर्थतन्त्रका विज्ञहरूका बीचमा सधैं फरक (अत्यधिक अनुमान गर्ने) रहँदै आएको उनले बताए ।
उनले गत वर्षको लस एन्जलसको डढेलोबाट २५० अर्ब डलर क्षतिको उक्त कम्पनीको सुरुवाती अनुमानलाई औंल्याए । धेरै जलवायु, जोखिम र बिमा समूहहरूले विस्तृत विश्लेषणका लागि पर्खिए र सबैले वास्तविक रकम करिब ६० अर्ब डलर रहेको बताएका थिए ।
एक्युवेदरका अनुमानहरू धेरै उच्च छन् किनभने तिनीहरूले व्यापार आपूर्ति शृंखलाका साथै चिकित्सा लागत लगायतका अप्रत्यक्ष र दीर्घकालीन लागतहरूको बृहत् चित्रलाई ध्यानमा राख्छन्, पोर्टरले भने ।
धेरैजसो अन्य अनुमानहरूले समुदायका मानिस र व्यवसायले भोग्ने चुनौतीहरूको कम वर्णन गरिरहेका छन्, उनले भने । उनले एनओएएको अर्ब डलरको विपद् पृष्ठलाई औंल्याए जसमा विचार नगरिएका कारकहरू सूचीबद्ध थिए । एनओएएका अनुमानहरूलाई वास्तवमै जे गुमेको छ त्यसको तुलनामा न्यून मानिनुपर्ने उक्त पृष्ठले भन्छ ।
अहिलेसम्म अमेरिकामा रेकर्ड गरिएको सबैभन्दा महँगो हिउँदे आँधी सन् २०२१ को टेक्ससको बरफ आँधी हो । त्यसको लागत करिब २६ अर्ब डलर थियो, स्मिथ र फुक्सले भने । सन् २०१६ को उत्तरपूर्वी हिमपहिरोको लागत करिब ३ अर्ब डलर भएको फुक्सले बताए ।
यो सप्ताहन्तको आँधी सन् २०२१ को टेक्सास आँधीको लागतको नजिक पुग्न सक्ने स्मिथले बताए । यो धेरै व्यापक भएकाले त्यस्तो स्थिति आएको उनको भनाइ छ ।
हिउँदे आँधी र अन्य मौसमी विपत्तिहरूका बारेमा कुरा गरिने नोक्सानीका प्रकारहरूमा ठूलो भिन्नता छ ।
आँधीबेहरी, आगलागी र बाढीले भवन, पूर्वाधार र भौतिक चीजहरूमा क्षति पुर्याउँछ जसको लागि बिमा कम्पनीहरूले भुक्तानी गर्नेछन् । हिमपात र बरफको आँधीमा धेरैजसो नोक्सानी गुमेको अवसर हो जुन थप अस्पष्ट र गणना गर्न गाह्रो हुन्छ भनी स्मिथ, नर्दन इलिनोइ युनिभर्सिटीका मौसम विज्ञानका प्रोफेसर भिक्टर गेन्सिनी, पूर्व एनओएए मुख्य वैज्ञानिक रायन माउ र राष्ट्रिय मौसम सेवाका पूर्व निर्देशक लुइस उचेलिनीले बताए ।
‘हामीले अर्ब डलरको क्षतिको कुरा गर्दा प्रायः बिमा गर्न सकिने नोक्सानीको कुरा गरिरहेका हुन्छौं,’ माउले भने, ‘खराब मौसमका लागि मानिसहरूलाई सामान्यतया क्षतिपूर्ति दिइँदैन ।’
ती गुमेका अवसरहरूको लागत पत्ता लगाउन गाह्रो हुन सक्छ किनकि अनुसन्धानले हिउँदे आँधीमा आर्थिक विजेताहरू पनि हुन सक्छन् भन्ने कुरा फेला पारेको छ, उचेलिनीले नोट गरे । उदाहरणका लागि, बेल्चा र नुन बेच्ने हार्डवेयर पसल र खाना बेच्ने किराना पसल ।
कोलोराडो स्टेटका फुक्सले अझै पनि नोक्सानी ती फाइदाहरू भन्दा धेरै बढी देखिने बताए । उनले आपूर्ति शृंखला र व्यापारिक सञ्चालनमा अवरोध, आपतकालीन प्रबन्धकहरू र यातायात विभागहरूको प्रतिक्रिया लागत आदिलाई उद्धृत गरे ।
लागत कसरी गणना गरिन्छ भन्ने कुराले फरक नपार्ने किनकि ती थपिँदै गइरहेको पोर्टर र अन्य बताउँछन् ।
जलवायु तातो हुँदै जाँदा खर्चिलो मौसमी विपत्तिहरू संसारभरि बढ्दो आवृत्ति र प्रभावका साथ भइरहेको पोर्टरको भनाइ छ । यो पछिल्लो उदाहरण मात्र भएको उनले बताए ।








प्रतिक्रिया