
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति भ्रामक, घृणात्मक र मानहानिकारक अभिव्यक्ति दिएको भन्दै धर्मराज तिमिल्सिनाले आइतबार आयोगमा निवेदन दर्ता गराएका हुन् ।
निवेदक तिमिल्सिनाले बालेनले निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक निर्वाचन प्रक्रिया विपरीतका गतिविधि गरेको दाबी गरेका छन् ।
एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी र तथ्यमा आधारित ‘पब्लिक डिबेट’ को सन्दर्भलाई लिएर बालेनले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा उल्लेख छ ।
उजुरीमा भनिएको छ, ‘बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप हुन् । यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा क्षति पुर्याउने, राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदातालाई भ्रमित पार्ने देखिन्छ ।’
नेपालको संविधान र निर्वाचन आचारसंहिताले निर्वाचन अवधिमा भ्रामक सूचना र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै निवेदकले उक्त अभिव्यक्तिको छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
यस्ता गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचनलाई निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउने उजुरीमा उल्लेख छ ।
यसैगरी, सोही निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि पनि कारबाहीको माग गरिएको छ । महोत्तरीलगायतका क्षेत्रमा चुनावी प्रचारका लागि रास्वपाले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै यो कार्य पनि निर्वाचन आचारसंहिता विपरीत रहेको दाबी गरिएको छ ।
निवेदक तिमिल्सिनाले निर्वाचन अवधिमा यस्ता घृणात्मक र भ्रामक आरोप नदोहोर्याउन स्पष्ट निर्देशन जारी गर्न र लोकतान्त्रिक बहसलाई तथ्य र नीतिमा आधारित बनाउने वातावरण निर्माण गर्न आयोगसँग आग्रह गरेका छन् ।








प्रतिक्रिया