एमाले र प्रलोपाबीच चुनावी तालमेल: रुकुम पश्चिममा जनार्दन शर्मालाई एमालेको समर्थन


काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच ३ बुँदे चुनावी तालमेलको सहमति भएको छ ।

सहमति पत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई सघाउने निर्णय गरेको छ ।

बदलामा कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुराना राप्ती अञ्चलका जिल्लाहरू (दाङ, रोल्पा, प्यूठान, र दुवै रुकुम) मा प्रलोपाले एमालेका उम्मेदवारहरूलाई मतदान गर्ने सहमति भएको छ ।

रुकुम पश्चिममा कति छ प्रभाव ?

एमालेले रुकुम पश्चिममा आफ्ना उम्मेदवार नन्दराम देवकोटालाई पछि हटाउँदै जनार्दन शर्मालाई समर्थन गर्ने भएपछि त्यहाँको प्रतिस्पर्धा रोचक बनेको छ । अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट भारी मतका साथ विजयी भएका शर्मा यसपटक आफ्नै नेतृत्वको नयाँ दल ‘प्रलोपा’ बाट चुनावी मैदानमा छन् ।

गत निर्वाचनमा शर्माले ३९ हजार ५४९ मत ल्याएर विजयी हुँदा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६९ मत प्राप्त गरेका थिए । २०७९ को समानुपातिक मत परिणाम हेर्दा एमालेको ८ हजार ७६९ र नेपाली कांग्रेसको ८ हजार ७६६ मत रहेको देखिन्छ ।

अघिल्लो पटक उम्मेदवार नउठाएको नेपाली कांग्रेसले यसपटक राजु केसीलाई चुनावी मैदानमा उतारेको छ । फागुन २१ मा हुने निर्वाचनमा रुकुम पश्चिमबाट कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।