नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा पुन श्याममणि आचार्य


काठमाडौं । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघमा पुन: श्याममणि आचार्य चयन भएका छन्।

शनिवार काठमाडौंको सुकेधारास्थित सूर्य इभेन्टमा सम्पन्न भएको संघको २१ औँ साधारण सभा तथा १० औँ अधिवेशन अधिवेशनले आगामी कार्यकालका लागि आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख राजन पोखरेलले रिकन्डिसन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशेष अतिथि बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराईले व्यवसायीका समस्या समाधानमा स्थानीय सरकार सकारात्मक रहेको बताए ।

नयाँ कार्यसमितिमा को को ?

अधिवेशनले आचार्यको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जसमा उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह-कोषाध्यक्षमा महेश जोशी चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा राम हरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्ण हरि गौतम, प्रदिप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया रहेका छन् ।

कार्यक्रममा विभिन्न अटो मोबाइल कम्पनीहरू एमएडब्लु राइड्स , सीजी मोटर्स, हंसराज हुलासचन्द र जगदम्बा मोटर्सले स्टल प्रदर्शनका साथै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू गरेका थिए ।

दोस्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष आचार्यले संघलाई अझ सशक्त बनाउँदै रिकन्डिसन व्यवसायीहरूको हकहितका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।