
एजेन्सी । सन् २०२५ मा चिनियाँ इलेक्ट्रिक सवारी साधन (ईभी) को निर्यातमा उल्लेख्य वृद्धि भएको छ । ‘चाइना ईभी मार्केटप्लेस’ ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उक्त प्लेटफर्ममार्फत हुने बिक्रीमा अघिल्लो वर्षको तुलनामा २२४ प्रतिशतले वृद्धि भएको छ।
विशेषगरी युरोपेली बजारमा साओमीका ईभी कारहरूले उत्साहजनक सफलता हात पारेको कारन्युज चाइनाले जनाएको छ ।
युरोपका अधिकांश बजारहरूमा साओमी सबैभन्दा बढी बिक्री हुने चिनियाँ ईभी ब्रान्ड बनेको छ ।
प्रतिवेदनका अनुसार, साओमीले सन् २०२५ मा विश्वभर कुल ४ लाख १० हजार ८ सय कारहरू डेलिभरी गरेको छ । यो संख्या कम्पनीले सुरुमा राखेको लक्ष्यभन्दा १७ प्रतिशतले बढी हो । साओमीको ‘अल्ट्रा’ भेरियन्टले युरोपेली ग्राहकहरूलाई विशेष आकर्षित गरेको समाचारमा जनाइएको छ ।
युरोपमा साओमीको कुल बिक्रीको १० प्रतिशत हिस्सा ‘अल्ट्रा’ मोडलले ओगटेको छ जबकि चीनमा यसको हिस्सा मात्र २.५ प्रतिशत रहेको छ ।
साओमी हाल जर्मनी, नेदरल्याण्ड्स, स्पेन र इटाली लगायतका १२ भन्दा बढी युरोपेली मुलुकहरूमा शीर्ष चिनियाँ ब्रान्डको रूपमा स्थापित भएको छ ।
सन् २०२४ मा जम्मा ३ हजार ४०० युनिट डेलिभरी गरेको ‘चाइना ईभी मार्केटप्लेस’ ले सन् २०२५ मा ११ हजार युनिट गाडीहरू ग्राहकसम्म पुर्याएको छ । यो वृद्धिको मुख्य कारण कम्पनीले प्रदान गरेको ‘डोर-टु-डोर’ (घरदैलो) सेवा र भन्सार क्लियरेन्स सहितको झन्झटमुक्त डेलिभरी प्रक्रियालाई मानिएको समाचारमा जनाइएको छ ।
त्यस्तै हुवावेको प्रिमियम ब्रान्ड ‘मेक्सट्रो’ साउदी अरब र ओमानमा सबैभन्दा बढी बिक्री हुने ब्रान्ड बनेको छ भने दक्षिण अमेरिकी बजारमा चेरीले आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।
‘चाइना ईभी मार्केटप्लेस’ का प्रमुख सञ्चालन अधिकृत ज्याकुब गेर्स्लका अनुसार, कम्पनीले सन् २०२६ मा आफ्नो बिक्रीलाई दोब्बर बनाउने लक्ष्य राखेको छ । कम्पनीले सन् २०२६ को पहिलो त्रैमासिकमा युरोपमा ‘आफ्टर-सेल्स’ सर्भिस नेटवर्क विस्तार गर्ने र क्यानडाको बजारमा समेत प्रवेश गर्ने योजना बनाएको छ । साओमीले भने सन् २०२७ मा आधिकारिक रूपमा युरोपेली बजारमा प्रवेश गर्ने तयारी गरिरहेको समाचारमा उल्लेख छ ।








प्रतिक्रिया