फ्याब्रिक्स र बोराहरू उत्पादन गर्ने शिव शक्तिले एकै वर्ष गर्‍यो १ अर्ब १५ करोडको व्यापार


काठमाडौं । शिव शक्ति केमोप्लास्ट प्रालिले एक वर्षमा १ अर्ब १५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ मा १ अर्ब ७० लाखको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीकाअनुसार गत आवमा आन्तरिक र निर्यातमा माग बढ्दा व्यापार बढेको हो । कम्पनीले गत आवमा ६५ प्रतिशत उद्योग क्षमता उपयोग गरेको छ । सन् २०२४ मा ६४ प्रतिशत र सन् २०२३ मा ५२ प्रतिशत क्षमता उपयोग गरेको थियो ।

सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

सन् २००२ मा स्थापना एको कम्पनीले विभिन्न प्रकारका पीपी वोभन फ्याब्रिक्स र बोराहरू, लेमिनेटेड पीपी व्यागहरू, त्रिपाल, प्राकृतिक र रंगीन फ्याब्रिक्स उत्पादन र निर्यात गर्दै आएको छ ।

अष्ट्रियाको गुणस्तरमा उत्पादन गर्ने कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७३ करोड २१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड २१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६७ करोड रुपैयाँको रेटिङ गराएको हो ।

शिव शक्ति ग्रुपद्वारा सञ्चालित यस कम्पनीको व्यवस्थापन राहुलकुमार अग्रवालले गर्दै आएका छन् ।