रास्वपा सिन्धुपाल्चोक-२ मा विवाद, मेलम्ची नगर सभापतिले दिए राजीनामा


सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार चयनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा असन्तुष्टी देखिएको छ । असन्तुष्टी जनाउँदै रास्वपाका मेलम्ची नगर समिति सभापति गोकुल प्रसाद ढकालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सिन्धुपाल्चोक-२ मा झलककुमार (अजय) श्रेष्ठलाई उम्मेदवार बनाएपछि रास्वपामा विवाद देखिएको हो । उम्मेदार चयनको टिकट लिने क्रममा रास्वपा केन्द्रीय कार्यलयमा समेत विवाद भएको भिडियोसमेत सार्वजनिक भएको थियो ।

पार्टीको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका ढकालले पार्टीभित्र मौलाउँदै गएको गलत प्रवृत्ति, विधि र नीतिको उल्लंघन भएको भन्दै जिल्ला समितिलाई राजीनामा बुझाएका हुन् ।

विज्ञप्ति जारी गर्दै ढकालले पार्टीभित्र विधि, नीति र निष्ठालाई तिलान्जली दिएर गलत पात्र र प्रवृत्तिलाई प्राथमिकता दिन थालिएको गम्भीर आरोप लगाएका छन् । उम्मेदवार छनोटका क्रममा भएका गलत अभ्यासहरूले पार्टीको छविमा धक्का पुगेको उनको ठहर छ ।

ढकालले आफ्नो राजीनामा पत्रमा पार्टीको केन्द्रीय नेतृत्वप्रति कडा असन्तुष्टि पोखेका छन् । उनले भनेका छन्, ‘पालिका र जिल्ला समितिले नियमसम्मत गरेका निर्णयहरूलाई पार्टीको केन्द्रीय नेतृत्वले निरन्तर बेवास्ता गर्दै जाने हो भने त्यो कसरी ‘संगठन’ हुन सक्छ? पुराना दलहरूको प्रवृत्ति नै दोहोर्‍याउने हो भने हामीलाई किन अर्को थान पार्टी चाहियो ?’

उनले पार्टीभित्र भित्रिएका खराब पात्रहरूलाई सच्याउन बुझाइएको ध्यानाकर्षण पत्र र ज्ञापनपत्र उपर केन्द्रबाट प्राप्त आश्वासन कार्यान्वयन नभएको र पार्टी स्वार्थी एवं अवसरवादीहरूको कब्जामा गइरहेको दाबी गरेका छन् ।

पार्टी जुन मूल्य-मान्यता र आदर्शका साथ स्थापना भएको थियो, वर्तमान परिस्थितिमा ती आदर्शहरू ‘हात्तीको देखाउने दाँत’ मात्र साबित भएको ढकालको टिप्पणी छ । उनले यस्तो गलत अभ्यास र प्रवृत्तिलाई बोकेर हिँड्न आफ्नो नैतिकताले अनुमति नदिएकाले आजकै मितिदेखि लागू हुने गरी नगर सभापति पद त्याग गरेको घोषणा गरेका छन् ।