
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ताको उत्साह चलिरहेको छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि भने यो दिन उत्सवभन्दा बढी संघर्षपूर्ण बनेको छ ।
निर्वाचनको मैदानमा हुनुपर्ने लामिछाने आज एकैदिन देशका तीनवटा अदालतको चक्कर काटिरहेका छन् ।
आफूमाथि राज्यले नियोजित ‘अत्याचार’ गरेको भन्दै लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश र पीडा व्यक्त गरेका छन्।
चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा रहेका लामिछानेले आजै पर्सा, काठमाडौँ र रूपन्देहीका जिल्ला अदालतमा आफ्ना मुद्दाहरूको सुनुवाइ भइरहेको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘देश निर्वाचनमय छ, मनोनयनको रौनक छ। तर बिडम्बना, म यो उत्साहमा पूर्ण रूपमा मिसिन सकिरहेको छैन। म अहिले अदालतको आदेश कुरिरहेको छु ।’
पर्सा जिल्ला अदालतबाट भर्खरै निस्किएका लामिछानेले चितवनमा रहेका आफ्ना शुभचिन्तकहरूलाई सम्बोधन गर्दै भ्याएसम्म आफैँ उपस्थित भएर मनोनयन दर्ता गर्ने, नभए वारेस मार्फत प्रक्रिया अघि बढाउने बताएका छन्।
सहकारी ठगीको आरोप खेपिरहेका लामिछानेले आफूलाई फसाउन प्रमाण नभए पनि मुद्दै मुद्दाको जाल बुनिएको आरोप लगाएका छन्। विपक्षीहरूलाई ‘पापी र अत्याचारी’ को संज्ञा दिँदै उनले भनेका छन्, ‘सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने तिमीहरू पापी हौं । देशका सम्पूर्ण अपराधीहरू एकै ठाउँमा जम्मा भएर ममाथि अत्याचार गरिरहेका छन्।’
पौराणिक पात्र अभिमन्यु चक्रव्यूहमा फसेर मारिएको सन्दर्भ जोड्दै लामिछानेले आफूलाई कमजोर नठान्न चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘म फेरि पनि भन्छु, म अभिमन्यु होइन।’यसको अर्थ उनले आफूलाई घेराबन्दी गरेर समाप्त पार्न खोज्नेहरूको प्रयास सफल नहुने संकेत दिएका हुन्।
लामिछानेले आफूमाथि भएको ‘अन्याय’ को फैसला जनताको अदालतबाट हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताले ‘घण्टी’ बजाएर विपक्षीहरूलाई जवाफ दिने दाबी गरे । ‘मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुण लगाएका छौं । म यो गुण बिना प्रतिशोध, चाँडै तिर्नेछु,’ उनले चेतावनीपूर्ण भाषामा भनेका छन् ।








प्रतिक्रिया