
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह आइतबार जनकपुर पुगेका छन् ।
जनकपुर बसाईका क्रममा उनीहरूले जानकी मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ । सोमबार बिहानै सिरहाको लहान पुगेर मधेश आन्दोलनका सहिदहरूको स्मृतिमा निर्मित पार्कमा माल्यार्पण गर्ने उनीहरूको योजना छ ।
मधेश प्रदेश सरकारले ‘बलिदानी दिवस’ का अवसरमा सार्वजनिक बिदा दिएकै दिन रास्वपाले लहानमा श्रद्धाञ्जली कार्यक्रम राखेको हो।
लहानबाट फर्किएपछि जनकपुरको तिरहुतिया गाँछीमा आयोजना हुने ‘परिवर्तनको उद्घोष सभा’ मा दुवै नेताले सम्बोधन गर्नेछन् । रास्वपा प्रवक्ता मनिष झाले लामिछाने र शाहले पहिलोपटक एउटै मञ्चबाट चुनावी अभियानको उद्घोष गर्न लागेको बताए ।
महानगरको मेयरबाट राजीनामा दिएर रास्वपा कार्यालय पहिलो पटक गएका बालेन त्यहाँ वरिष्ठ नेताको कार्यभार सम्हाले लगत्तै जनकपुरका लागि प्रस्थान गरेका थिए ।








प्रतिक्रिया