विरोध प्रदर्शनमा कम्तीमा ५ हजारजना मारिएको इरानी अधिकारीले गरे स्वीकार


एजेन्सी । एक इरानी अधिकारीले हालै भएका प्रदर्शनका क्रममा कम्तीमा ५ हजारजनाको मृत्यु भएको बताएका छन् ।

तीमध्ये करिब ५०० जना सुरक्षाकर्मी रहेको भन्दै उनले आतंककारी र सशस्त्र दंगाकारीहरूले निर्दोष इरानीहरूको हत्या गरेको आरोप लगाए ।

विषयको संवेदनशीलताका कारण नाम नबताउन चाहने ती अधिकारीले रोयटर्सलाई इरानको उत्तरपश्चिमी भागका कुर्द बाहुल्य क्षेत्रहरूमा सबैभन्दा भीषण झडप र उच्च संख्यामा मृत्यु भएको पनि जानकारी दिए ।

कुर्द पृथक्तावादीहरू सक्रिय रहेको यस क्षेत्रमा विगतका अशान्तिहरूमा पनि हिंसा अत्यन्तै चर्को हुने गरेको छ ।

‘अन्तिम मृतक संख्या तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छैन,’ उनले भने, ‘इजरायल र विदेशस्थित सशस्त्र समूहहरूले सडकमा उत्रिएकाहरूलाई सहयोग र हतियार उपलब्ध गराएका थिए ।’

इरानी अधिकारीहरूले प्रायः अशान्तिको दोष विदेशी शत्रुहरूलाई लगाउँदै आएका छन् जसमा इस्लामिक गणतन्त्रको कट्टर शत्रु इजरायल पनि पर्छ । इजरायलले गत जुन महिनामा इरानमाथि सैन्य आक्रमण गरेको थियो ।

अमेरिकास्थित मानव अधिकार संस्था एचआरएएनएले शनिबार मृतक संख्या ३३ सय ८ पुगेको र थप ४३ सय ८२ घटनाहरू अझै समीक्षा प्रक्रियामा रहेको जनाएको छ । उक्त समूहका अनुसार २४ हजारभन्दा बढी पक्राउहरू पुष्टि भइसकेका छन् ।

नर्वेमा रहेको इरानी कुर्द मानव अधिकार समूह हेंगावले डिसेम्बरको अन्त्यतिर सुरु भएका प्रदर्शनका क्रममा उत्तरपश्चिमका कुर्द क्षेत्रहरूमा सबैभन्दा भीषण झडपहरू भएको जनाएको छ ।