
काठमाडौंं । नेकपा एमालेले फागुन २१ को निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । तर, उम्मेदवार चयन गर्दा फरक समूहलाई बाइपास गरिएको भन्दै पार्टीमा हलचल पैदा गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीका १४० निर्वाचन क्षेत्रको उम्मेदवारी टुङ्ग्याउँदा आफू इतर समूहका प्रभावशाली र चर्चित नेताहरूलाई पाखा लगाएको आरोप लागेको छ ।
टिकट वितरणमा असन्तुष्टी जनाउँदै एमाले सचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट लेखेका थिए ।
११औँ महाधिवेशनमा ईश्वर पोखरेलको प्यानलबाट उम्मेदवार बनेका चर्चित नेताहरू यसपटक चुनावी मैदानबाट बढारिएका हुन् ।
पार्टी नेतृत्वले टिकट वितरण गर्दा २०७९ को निर्वाचनमा सानदार जित निकालेका काभ्रे–२ का गोकुल बास्कोटा र पाल्पा–२ का ठाकुर गैरेलाई समेत यसपटक उम्मेदवार नबनाउने निर्णय ओलीले गराएका छन् ।
विशेषगरी पाल्पा–२ को विषयलाई लिएर एमालेभित्र असन्तुष्टि चुलिएको छ । रुपन्देही–२ बाट चुनाव लड्दै आएका उपाध्यक्ष विष्णु पौडेललाई यसपटक पाल्पा–२ को टिकट दिएर युवा नेता ठाकुर गैरेलाई पञ्छाइएको छ ।
यो निर्णय हुनुअघि बसेको पदाधिकारी बैठकमा केही नेताहरूले कडा आपत्ति जनाएका थिए । ‘पार्टीका उपाध्यक्ष नै आफ्नो क्षेत्र असुरक्षित देखेर भागेको सन्देश जाने गरी यस्तो निर्णय नगरौँ, यसले ठाकुर गैरेमाथि मात्र होइन, निष्ठावान कार्यकर्तामाथि समेत अन्याय हुन्छ,’ भन्दै पदाधिकारीहरूले तर्क गरेका थिए । तर, गोकुल बास्कोटा र ठाकुर गैरे जस्ता नेताहरूलाई रोक्ने प्रस्तावमा अध्यक्ष ओली टसको मस भएनन् र आफ्नै प्रस्ताव बमोजिमको निर्णय सदर गराए ।
इतर समूहका नेताहरूलाई पाखा लगाउने क्रममा मोरङका नेता विनोद ढकाल पनि शिकार भएका छन् । मोरङका तीनवटा क्षेत्र (१, ४ र ६) बाट सिफारिस भएका ढकालको नाममा नेतृत्वले कुनै सुनुवाइ नै गरेन । त्यस्तै, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पनि यसपटक चुनावी रिङबाट बाहिरै राखिएको छ । चितवन–१ बाट निरन्तर चुनाव लड्दै आएका पाण्डेको नाम जिल्लाबाट सिफारिस नै नभएको बहानामा नेतृत्वले उनलाई पन्छाएको छ ।
फरक कित्तामा लागेकै कारण टिकटबाट वञ्चित हुने नेताहरूको सूची निकै लामो छ । झापा–४ बाट एलपी सावा, इलाम–२ बाट महेश बस्नेत, ओखलढुंगाबाट अमिरबाबु गुरुङ र सुनसरी–१ बाट जय राईलाई नेतृत्वले उम्मेदवार नबनाएको हो।
काठमाडौंमा समेत ओलीले आफ्ना आलोचकहरूलाई बाँकी राखेका छैनन् । काठमाडौँ–३ बाट कृष्ण राई र काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठलाई टिकट नदिनुमा उनीहरू फरक गुटमा आबद्ध हुनु नै मुख्य कारण रहेको नेताहरू बताउँछन् ।
सिन्धुली–१ बाट गणेश पहाडी, रामेछापबाट रत्न गौतम र कास्कीबाट मनबहादुर गुरुङ जस्ता अनुहार पनि यसपटक उम्मेदवार बन्ने अवसरबाट रोकिएका छन् ।
कतिसम्म भने बारा–२ मा जिल्लाबाट उम्मेदवारको नाम सिफारिस हुँदा जम्मा ४ मत पाएकी ज्वाला साहलाई टिकट सुम्पिइएको छ भने बलियो दाबेदार मानिएका अत्यानन्द पाण्डेलाई पाखा लगाइएको छ ।
म्याग्दीका बालकृष्ण सुवेदी, कैलाली–२ का झपट रावल, कञ्चनपुर–१ का तारा लामा र बाजुराका कर्ण थापाले टिकट नपाउनुको पछाडि आफ्नो गुटमा नरहनु भएको भन्दै एमाले नेता कार्यकर्तामा आक्रोश देखिएको छ ।








प्रतिक्रिया