देउवा पक्षले बोलायो आकस्मिक बैठक, प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशन


काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएपछि नेपाली कांग्रेसको शेरबहादेर देउवा पक्षले आकस्मिक रूपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा माघ ३ गते शनिबार बिहानका लागि बैठक आह्वान गरिएको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बैठक शनिबार बिहान ८:०० बजे ललितपुरको बी.पी. नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

रणनीति तय गर्न बैठक

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उत्पन्न परिस्थितिको समीक्षा गर्न र आगामी कानुनी तथा राजनीतिक रणनीति तय गर्न यो बैठक बोलाइएको बुझिएको हो । कार्यवाहक सभापति खड्काले यसअघि नै आयोगको निर्णयविरुद्ध ‘राजनीतिक र कानुनी लडाइँ’ लड्ने घोषणा गरिसकेका छन् ।

प्रदेश सभापतिहरूलाई पनि बोलाइयो

यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूका साथै सातै वटा प्रदेश कार्यसमितिका सभापतिहरूलाई समेत अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

बैठकमा निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने र पार्टीभित्रको आफ्नो अस्तित्व रक्षाका लागि चालिने कदमबारे ठोस निर्णय हुने सम्भावना छ।