गगनले भने: अब कांग्रेसमा गुट र भागबण्डा अन्त्य भयो, देउवाको साथ रहने अपेक्षा छ


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयसँगै पार्टीमा विधि, विधान र पद्धति स्थापित भएको बताएका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगले शुक्रबार वैधानिकता दिएपछि विज्ञप्ति जारी गर्दै थापाले पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपील गरेका छन् ।

विज्ञप्तिमा सभापति थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको प्रस्ट पार्दै निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार सही निर्णय लिएको उल्लेख गरेका छन् । ‘यो नेपाली कांग्रेसका सदस्यहरू र शुभेच्छुकहरूले सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो,’ थापाले भनेका छन् ।

सभापति थापाले अबका दिनमा कांग्रेसभित्र कुनै पनि गुट र भागबण्डाको राजनीति नरहने घोषणा गरेका हुन् । ‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन । जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुनेछ,’ उनले भनेका छन् ।

देउवा पक्षलाई साथ दिन आग्रह

थापाले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका सबैलाई संयमित र जिम्मेवार बन्दै एकताबद्ध रहन आग्रह गरेका छन् । विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा लगायतका नेताहरूलाई यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिएर पार्टी रूपान्तरणको महाअभियानमा पूर्ण साथ दिन उनले अपील गरेका छन् ।

विज्ञप्तिमा सभापति थापाले आगामी दिनमा कांग्रेसले सत्ताका लागि जोसँग जतिबेला पनि ‘अप्राकृतिक गठबन्धन’ गर्ने संस्कृतिको अन्त्य गर्ने दृढता व्यक्त गरेका छन् ।

पार्टी अब आफ्नो मूल मूल्य-मान्यता र आदर्शमा फर्किएको भन्दै उनले सिद्धान्तविपरीत कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे ।

कांग्रेस अब ‘रिफर्म’ (सुधार) को यात्रामा निस्किएको र यसले नयाँ पुस्ताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने थापाको दाबी छ । उनले विगतका कमजोरीप्रति आत्मालोचना गर्दै आगामी निर्वाचनमा उच्च आत्मविश्वासका साथ एकढिक्का भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै भनेका छन्, ‘अब कांग्रेस बदलिएको छ, बदलिनेछ।’