निर्वाचन आयोगको निर्णय ‘षड्यन्त्रपूर्ण’, मान्दैनौं: पूर्णबहादुर खड्का


काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा पक्षले त्यसको कडा प्रतिवाद गरेको छ ।

देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको यो कदमलाई ‘षड्यन्त्रपूर्ण’ भन्दै आफूहरू राजनीतिक र कानुनी दुवै मोर्चामा लड्ने घोषणा गरेका छन् ।

आयोगको निर्णय सार्वजनिक भएलगत्तै निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै खड्काले आयोगले आफ्नै स्थापित नजिरहरूको उल्लंघन गरेको आरोप लगाए । उनले विधानविपरीत गरिएको विशेष भेलालाई आयोगले मान्यता दिनु गलत भएको दाबी गरे ।

‘निर्वाचन आयोगबाट षड्यन्त्रपूर्ण निर्णय आएको छ, जुन आयोगको स्थापित नजिरविपरीत छ,’ खड्काले भने, ‘यो निर्णय हामीलाई अमान्य छ। संस्थापन पक्षले यसलाई खारेज गर्छ। हामी यसका विरुद्ध वैधानिक र राजनीतिक लडाइँ लड्छौँ।’

खड्काले आयोगको निर्णयमा ‘सेटिङ’ भएको आशंका गर्दै आधिकारिक सभापति र केन्द्रीय समितिलाई एक पटक पनि नबोलाई एकपक्षीय रूपमा निर्णय गरिएकोमा आपत्ति जनाए । ‘शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति नै यथावत छ। आयोगको यो प्रक्रिया पार्टी विधान र नियमावलीको समेत खिलापमा छ’ उनले भने ।

आयोगको यो निर्णयविरुद्ध देउवा पक्ष अब सर्वोच्च अदालत जाने संकेत समेत खड्काले दिएका छन् । यससँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब कानुनी उपचारको प्रक्रियामा प्रवेश गर्ने देखिएको छ।