८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको देउवा पक्षको दाबी, संस्थापन पक्षको निवेदन आयोगमा


काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद निर्वाचन आयोगसम्म पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित स-शरीर उपस्थित भएको बहुमत केन्द्रीय सदस्यहरूको टोलीले गगन थापाको नेतृत्वमा बनाइएको समितिलाई ‘अवैध’ ठहर गर्न माग गरेको छ ।

आयोग पुगेका नेताहरूले पार्टीले कुनै पनि विशेष महाधिवेशन नबोलाएको र त्यसबाट आएको नेतृत्वको वैधानिकता नहुने जिकिर गरेका छन् ।

निवेदनका साथै कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका भनिएका ८८५ जना महाधिवेशन प्रतिनिधिले आफ्नो हस्ताक्षर फिर्ता लिएको प्रमाण समेत आयोगमा पेश गरेका छन्।

खड्काले ती हस्ताक्षरकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिँदै हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष विवाद छिटो निरुपण गरिदिन आग्रह गरे ।

यसअघि बिहीबार मात्रै विशेष महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्ने गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेर आफूहरूलाई आधिकारिकता दिन र विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।

दुवै पक्षको दाबी र प्रमाण प्राप्त गरेपछि निर्वाचन आयोगले कानुन र उपलब्ध प्रमाणहरूको आधारमा यसबारे निर्णय लिने जनाएको छ। कांग्रेसका दुई पक्षबीचको यो विवादले पार्टीभित्रको शक्ति संघर्षलाई निर्वाचन आयोगको कानुनी प्रक्रियामा पुर्‍याएको छ।