पुस महिनामा भित्रियो साढे १७ करोडको २२ लाख किलो कन्दमुल, ६२ प्रतिशत तरुलको मात्रै अंश

35
Shares

काठमाडौं । माघे संक्रान्तिको समयमा राजधानीको एउटा मात्रै सरकारी बजारबाट एक महिनाको अवधीमा साढे १७ करोड रुपैयाँबराबरको कन्दमुल भित्रिएको छ ।

सरकारी स्वामित्वको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा पुष महिनामा मात्रै १७ करोड ६५ लाख ३७ हजार १ सय २० रुपैयाँबराबरको २२ लाख ६ हजार ७ सय १४ किलो विभिन्न प्रकारका कन्दमुल भित्रिएको छ । ति कन्दमुलको औषध बजार मूल्य ८० रुपैयाँ प्रतिकिलोका दरले हिसाव गरिएको हो ।

भित्रिएको कन्दमुलमध्ये सबैभन्दा बढी तरुल करिब ६२ प्रतिशतले १३ लाख ६१ हजार ७ सय ६९ किलो भित्रिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको पुस महिनासम्ममा भने करिब ८०.४१ प्रतिशत तरुल भित्रिएको छ ।

श्रेष्ठका अनुसार औषध मूल्य ७५ रुपैयाँको दरले १० करोड २१ लाख ३२ हजार ६ सय ७५ रुपैयाँबराबरको विभिन्न प्रकारका तरुल उक्त बजारमा पुष महिनामा भित्रिएको हो ।

यसपछि दोश्रोमा पिडालु ११.१८ प्रतिशतका दरले २ लाख ४६ हजार ७ सय ९८ किलो र सखरखण्ड २७.११ प्रतिशतका दरले ५ लाख ९८ हजार १ सय ४७ किलो उक्त बजारमा पुस महिनामा प्रवेश गरेको थियो ।

चालु आर्थिक वर्षको पुस महिनासम्ममा भने १८ लाख ५ हजार ८ सय ३० किलो तरुल, ५ लाख ७५ हजार ८४ किलो पिडालु र ११ लाख ७ हजार ५ सय ६८ किलो सखरखण्ड गरी औषत ८० रुपैयाँ प्रतिकिलोका दरले २७ करोड ९१ लाख ५० हजार ५ सय ६० रुपैयाँबराबरको कूल ३४ लाख ८९ हजार ३ सय ८२ किलो भित्रिएको थियो ।

यो बजारमा बाह्ै महिना कन्दमुल भित्रिएपनि सबैभन्दा बढी खपत माघे संक्रान्तिको समयमा हुने गरेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष भरत खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार माघे संक्रान्तिको समयमा सबैभन्दा बढी घर तरुल, तराई तरुल, रातो तरुल, हात्ति पाइले तरुल, बन तरुल र भारतबाट आयात हुने सिमल तरुलको कारोबार हुने गर्छ ।

बजार यसपटक थोकमा तराई तरुल ८० देखि एक सय रुपैयाँ, रातो तरुल १४० देखि १७० रुपैयाँ, हात्ति पाइले तरुल ६० देखि ८० रुपैयाँ, बन तरुल १५० देखि २५० रुपैयाँ र सिमल तरुल ६० देखि ८० रुपैयाँमा बिक्री भएको छ ।

‘कम उत्पादन भएर पुजाआजामा मात्रै खपत हुने भएर बन तरुल भने प्रतिकिलो ४ सय रुपैयाँसम्ममाप नि कारोबार गरेको छ,’ अध्यक्ष खतिवडाले क्लिकमान्डुसँग भने,‘कूल भित्रिने यस्ता बन तरुलमध्ये करिब २० प्रतिशतका दरले भारतबाट सिमल तरुल आयात हुन्छ । बाँकी सबै तरुल हाम्रै नेपालको चितवन, सर्लाही र तराईका विभिन्न जिल्लामा उत्पादन भएका हुन् ।’

सिम्मल (तराई जातको) तरुल नेपालमा कम परिमाणमा उत्पादन भएकाले भारतको उत्तर प्रदेशबाट आयात हुन्छ । कन्दमूल समूहभित्र पिंडालु, सखरखण्ड, स्कूल र तरुल पर्छन ।

माघे संक्रान्तिका दिन चाकु, तिलको लड्डु र घिउसँगै खाइने तरुलसहितको कन्दमुलको व्यापार अत्यधिक हुन्छ ।

अन्य बजारबाट कति परिमाणमा यस्ता कन्दमूलको व्यापार भयो भन्ने बिषयमा यकिन विवरण छैन् । यस्तै माघे संक्रान्तिकै दिन अझ कति परिमाणमा बिक्री भएको बिषयमा पनि आधिकारिक तथ्याँक प्राप्त भएको छैन ।

शरीरको लागि निक्कै पोषिलो आहाराको रुपमा चिनिने तरुलको व्यापार माघे संक्रान्तिका कारण उपत्यकामा उत्कर्षमा पुगेको थियो । पछिल्लो एक साताको अवधीमा कालीमाटी तरकारी बजारमा मात्रै सबैभन्दा बढि तरुलको व्यापार भएको छ । यस्तै तरुलपछि सखरखण्डको पनि अत्यधिक व्यापार भएको छ ।

‘गत् बर्षको तुलनमा यो बर्ष कन्दमुल जातको तरकारीको राम्रो व्यापार भएको छ, बजारमा आएको सबै परिमाण करिब बिक्री भएको छ,’ खतिवडाले भने,‘गत् बर्ष आर्थिक मन्दीका कारण बिक्रीमा करिब ३० प्रतिशतले गिरावट आएको थियो ।’

व्यापारीलाई स्वदेशी उत्पादन तथा भारतबाट आयात गरी सर्वसाधारणलाई बिक्री गर्न बिहिबार बिहानसम्म भ्याई नभ्याई भएको उनको भनाई छ । कन्दमूलको अत्यधिक व्यापार बुधबार रातिसम्म भएको थियो ।

उनकाअनुसार पछिल्लो ४–५ बर्षयता तरुलको ब्यापार निक्कै फस्टाएको छ । पहिले खान नरुचाउने उपभोक्ताले पनि स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले यसको विभिन्न प्रकारको परिकार खान पल्केका छन् ।

जसले गर्दा यसको कारोबार हवात्तै बढेको हो । उपत्यकामा हुने तरुलको कूल कारोबारमध्ये झण्डै ८० प्रतिशत सर्लाहीबाट भित्रिन्छ । बाँकी २० प्रतिशतमा भारत र स्वदेशकै अन्य जिल्लाको उत्पादनले हिस्सा ओगटेको छ ।

खतिवडाअनुसार यो बर्ष बजारमा धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङजा, गोरखा, नवलपरासी, ललितपुरलगायतका जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भित्र्याइएको थियो ।

बजारमा अत्याधिक महँगो मानिएको बन तरुलसहित घर तरुल, हात्ति पाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुल, तराई तरुल नामका तरुलको कारोबार भएको छ ।

झण्डै ५० प्रतिशत सर्लाहीबाट मात्रै आपूर्ति

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी श्रेष्ठका अनुसार कालिमाटी बजारमा भित्रिने विभिन्न प्रकारका तरुलमध्ये झण्डै ५० प्रतिशत सर्लाही जिल्लाबाट मात्रै आपूर्ति हुने गरेको छ ।

सर्लाहीपछि सुनसरीबाट ९.९७, भारतबाट ७.८०, मोरङ्गबाट ६.७५, धादिङ्गबाट ६.१९, दोलखाबाट ४.१९, नवलपरासी पूर्वबाट ३.६१, गोरखाबाट २.१४, चितवनबाट १.९४, झापाबाट १.७८, पर्साबाट १.४७ र मकवानपुरबाट १.२८ प्रतिशतको हाराहारीमा तरुल आपूर्ति भएको थियो ।

यसबाहेक तनहुँ, सिराहा, सिन्धुली, रौतहठ, नुवाकोट, महोत्तरी, ललितपुर, काभ्रे, काठमाडौं, दाङ्ग, भक्तपुर र बाराबाट पनि तरुल आपूर्ति हुन्छ ।

वहुउपयोगी गुणको धनी तरुल
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक तथा खाद्य विज्ञ संजीवकुमार कर्णका अनुसार तरुल निक्कै पोषिलो र वहुउपयोगी खाद्य पदार्थ हो ।

तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेट, प्रोटिन, मिनेरल्स, इनर्जी, भिटामिन पाइने भएकाले यसलाई पोषिलो खानाको रुपमा लिइन्छ । खानाको रुपमा पनि तरुललाई खान सकिने कर्णको सुझाव छ ।

‘खानाको रुपमा प्रयोग गरिने चामलभन्दा आलुमा बढी पोषण तत्व छ,’ पूर्व महानिर्देशक कर्णले भने,‘त्यसैगरी तरुलमा पनि चामलभन्दा बढी पोषण तत्व छ । यसलाई खानाको रुपमा प्रयोग गर्दा पनि हुन्छ । वहुउपयोगी गुणको धनी मानिएपनि सर्वसाधारणमा सचेतनाका कारण अझै यसको भरपुर रुपमा उपभोग हुन सकेको छैंन् ।’

खाद्य विभागकाअनुसार तरुलबाट विभिन्न प्रकारका परिकार बनाएर खान सकिन्छ । उसिनेर नुन र खुर्सानीसँग चोपेर खाजाको रुपमा खान सकिन्छ । यस्तै तरकारी र अचारको रुपमा पनि उपभोग गर्न सकिन्छ ।

कर्णका अनुसार तरुललाई सुकाएर पाउडर बनाउन सकिन्छ । यस्तो पाउडरको प्रयोग गरी पाउरोटी, केक, रोटी, चाउचाउ र मिठाई बनाएर पनि खान सकिन्छ ।