निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ: चन्द्र ढकाल


कञ्चनपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजीक्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।

आइतबार कञ्चनपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

‘कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजीक्षेत्र हो’, ढकालले भने, ‘सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजीक्षेत्रले गरिरहेका छन् ।’

उनले सुदूरपश्चिममा पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले यस क्षेत्रमा आफूले लगानी गरेको बताए ।

‘सुदूरपश्चिममा जहाँ हेर्‍यो त्यहीँ सम्भावना छ, त्यसकारण यहाँको सबैभन्दा ठूलो पर्यटन पूर्वाधार अगाडि बढाएका छौँ’, अध्यक्ष ढकालले भने, ‘यसले सुदूरपश्चिमको मात्रै नभई मुलुमकै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने छ ।’

उनले इमान्दारीका साथ काम गरे प्रतिफल आउने विश्वास व्यक्त गरे । सुदूरपश्चिमबाट छिमेकी मुलुक भारतका ठूला औद्योगिक क्षेत्र नजिक रहेकाले त्यसको फाइदा पनि सुदूरपश्चिमलाई रहेको उनकाे भनाइ छ । उनले निजीक्षेत्रको समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल गरिरहेको बताए ।