विशेष महाधिवेशन सकिएपछि पूर्वसभापति देउवाको आशिर्वाद लिन जानुपर्छ: गगन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति भङ्ग भइसकेको दाबी गर्दै विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिने बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले पार्टीको विधान र नेपालको संविधान अनुसार गरिएको यो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिने विश्वास व्यक्त गरे । पार्टी मुख्यालय सानेपामा बसेको संस्थापन पक्षको बैठकले आफूहरूलाई पार्टीबाट निष्काशन गरेको निर्णयहरूप्रति टिप्पणी गर्दै उनले भने, ‘सानेपामा बसेर गरेको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो अस्ति नै भङ्ग भैसकेको छ । अब विशेष महाधिवेशनले नै निर्वाचन प्रक्रिया अघि बढाउँछ र नयाँ कार्यसमिति चयन गर्छ ।’

उनले सानेपाले आफूहरूलाई अलमल्याएर निर्वाचन आयोगमा पत्र पठाएको भन्दै आक्रोश समेत व्यक्त गरे । आफूहरूमाथि गर्न खोजिएको कारबाहीको वैधतामाथि प्रश्न उठाउँदै थापाले भने, ‘हामीलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्नुपर्थ्यो, त्यसैले सोझै गरिएको भनिएको कारबाहीको कुनै कानुनी हैसियत छैन ।’

यसैबीच, महामन्त्री थापाले कार्यकर्ताहरूलाई संयमित रहन र कसैको विरुद्ध पनि गालीगलौजमा नउत्रिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल र गाउँठाउँमा बोल्दा कसैको पनि आलोचना नगर्न निर्देशन दिँदै उनले सबै साथीभाइलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेतृत्वप्रति कटाक्ष गर्दै उनले भने, ‘तपाईंहरू कसैलाई गाली नगरिदिनुहोला । ती साथीभाइलाई पनि सँगै लिएर जानुपर्नेछ । केही दिनपछि जब कांग्रेसको महाधिवेशन सकिन्छ, हामी नयाँ निर्णय सुनाउँछौं । त्यसको दुई दिन पछाडि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छँदैछ नि !’

थापाले विशेष महाधिवेशनले पार्टीमा नयाँ रक्तसञ्चार गर्ने र विधिको शासन स्थापित गर्ने दाबी समेत गरे ।