देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको बारे निर्वाचन आयोगलाई गगनहरूले पहिल्यै गराएका थिए जानकारी


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भई विशेष महाधिवेशन सुरु भइसकेको जानकारी निर्वाचन आयोगलाई गराइसकिएको जानकारी दिएका छन् ।

विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले देउवा पक्षले निर्वाचन आयोगमा पठाएका पत्र र प्रतिनिधिहरूको अब कुनै वैधानिकता र औचित्य नरहेको दाबी गरे ।

‘विशेष महाधिवेशन उद्घाटन हुनेबित्तिकै १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग भएको र नयाँ कार्यसमिति निर्वाचित भएपछि मात्रै त्यसलाई अद्यावधिक गराइनेछ भनेर हामीले आयोगलाई पहिल्यै पत्र पठाइसकेका छौं,’ थापाले भने ।

संस्थापन पक्षले आफूलाई पार्टीबाट निष्कासित गरेको विषयमा टिप्पणी गर्दै थापाले नेपाली कांग्रेस कसैको ‘निजी कम्पनी’ नभएको र कसैले चाहँदैमा कोही पार्टीबाट ननिस्कने स्पष्ट पारे । उनले बहुमत महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति र विधिसम्मत ढंगले आउने परिणामलाई निर्वाचन आयोगले मान्यता दिनेमा आफू विश्वस्त रहेको बताए ।

थापाले देउवा पक्षले निर्वाचन सार्न र आफूहरूलाई अल्मल्याउन विभिन्न जालझेल गरिरहेको आरोपसमेत लगाए । उनले भने, ‘उहाँहरूले सहमहामन्त्री बद्री पाण्डेलाई निर्वाचन आयोगमा धर्ना राख्न लगाएर निर्वाचन सार्ने प्रपञ्च गरिरहनुभएको छ। मलाई कारबाही गरेको पत्र पठाएर हामीलाई यता अल्मल्याउने खेल भइरहेको छ, तर हामी प्रक्रियागत रूपमा सचेत छौं।’

आफूलाई देशको कानुन, संविधान र संवैधानिक निकायहरूप्रति पूर्ण भरोसा रहेको उल्लेख गर्दै थापाले अबको बाटो विशेष महाधिवेशनबाटै तय हुने जिकिर गरे।