
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपछि संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।
बुधबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो।
उनीहरूले पार्टी हितविपरीत काम गरेको र अनुशासन उल्लंघन गरेको निष्कर्ष निकाल्दै संस्थापन पक्षले यस्तो कठोर कदम चालेको हो ।
पार्टीको नियमित महाधिवेशन आगामी पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने केन्द्रीय समितिको निर्णयमा महामन्त्रीद्वयले असहमति जनाउँदै ‘फरक मत’ राखेका थिए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको दाबी गर्दै थापा र शर्माले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेका थिए । संस्थापन पक्षले यसलाई पार्टी विभाजनको रेखा कोर्ने प्रयास र विधानविपरीतको कदम ठहर गरेको छ ।
पार्टी विभाजन रोक्नका लागि मंगलबार तीन चरणमा छलफल भए पनि कुनै निकास निस्कन सकेन । बुधबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच भएको अन्तिम चरणको वार्तासमेत असफल भएपछि विवाद वारपारको स्थितिमा पुगेको हो ।
विशेष महाधिवेशनको पक्षमा रहेका थापा र शर्माले बन्द सत्रको निर्णय नै अन्तिम हुने अडान लिँदै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए । सोही प्रक्रियाअनुसार महामन्त्री गगन थापाले सभापति पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य पदाधिकारीमा पनि मनोनयन भइसकेको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय समिति बैठकले महामन्त्रीहरूमाथि कारबाही गरे पनि विशेष महाधिवेशनको पक्षमा लागेका अन्य नेता-कार्यकर्ताहरूलाई भने आ-आफ्नो जिम्मेवारी र भूमिकामा फर्कन आग्रह गरेको छ। महामन्त्रीद्वयको निष्कासनसँगै नेपाली कांग्रेस औपचारिक रूपमा फुटको संघारमा पुगेको छ।








प्रतिक्रिया