१ करोड खर्चेर राजावादी निर्देशले पठाएका थिए ५० लाख जनालाई मोबाइलमा म्यासेज, परे पक्राउ


काठमाडौं । राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन आह्वान गर्दै लाखौँ सर्वसाधारणलाई मोबाइलमा सन्देश (एसएमएस) पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो। सेढाईंले नेपाल टेलिकमको ‘एसएमएस गेटवे’ प्रयोग गरी ‘एटी अलर्ट’ को नामबाट करिब ५० लाख मानिसलाई राजनीतिक प्रकृतिको सन्देश पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उनले एकैपटक ठुलो संख्यामा मोबाइल प्रयोगकर्तालाई म्यासेज पठाएका थिए ।

सेढाईंले पठाएको सन्देशमा भनिएको थियो- ‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी महान अधिराज्य नेपाल बनाउनको लागि पुस ३० गते १२ बजे बालुवाटार । निर्देश सेढाईं।’

प्रहरीसँगको बयानका क्रममा उनले यसरी म्यासेज पठाउन दूरसञ्चार कम्पनीसँग सम्झौता गरेका दुईवटा कम्पनीमार्फत करिब १ करोड रुपैयाँ खर्च गरेको दाबी गरेका छन्।

अनधिकृत रूपमा व्यक्तिगत गोपनीयतामाथि हस्तक्षेप गरी राजनीतिक अभियान चलाएको आरोपमा पक्राउ परेका सेढाईंमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सर्वसाधारणको व्यक्तिगत मोबाइल नम्बरमा बिना अनुमति राजनीतिक सन्देश आएपछि गोपनीयता भंग भएको भन्दै नेपाल टेलिकमको चर्को आलोचना भएको थियो ।

यसै विषयमा टेलिकमले मंगलबार नै विज्ञप्ति जारी गरी आफ्नो बचाउ गरेको छ। टेलिकमले व्यापार र व्यवसाय प्रवर्द्धनका लागि मात्र एसएमएस प्रवाह गर्न स्वीकृति दिने गरिएको र राजनीतिक वा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने सन्देश पठाउन रोक लगाइएको प्रस्ट पारेको छ ।

टेलिकमले आगामी दिनमा यस्ता सन्देश प्रवाह नगर्न सबै सेवा प्रदायकहरूलाई सचेत गराएको छ।