२५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पुनः ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’ उपकरणमार्फत ऋणपत्र निष्कासन गरिनेछ । यसको बोलकबोल प्रक्रिया आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ ।

ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण गरिनेछ । यस ऋणपत्रको सावाँ २०८३ पुस ३० गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिनेछ ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् । सहभागी संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

स्वीकृत बोल रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा गणना गरिनेछ । उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा सो रकम गणना गर्न सकिने जनाइएको छ ।

ऋणपत्रको परिपक्व मितिभन्दा अघि लगानीकर्ताले सोबापतको रकम फिर्ता पाउने छैनन् । राष्ट्र बैंकले पुस १४ गतेदेखि आजसम्म गरी नौ पटक ऋणपत्र निष्कासन गरिसकेको छ ।