
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ ।
बिमा बोर्डबाट लामो समयदेखि दाबी भुक्तानी नपाएपछि आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा अन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ ।
अस्पतालका अनुसार बिमा बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। मासिक ५ करोडभन्दा बढी खर्च हुने अस्पतालले दाबी रकमको करिब ५० प्रतिशत मात्र स्वीकृत हुने र उपचार दररेटमा ठूलो अन्तर रहेकाले आर्थिक अवस्था संकटमा परेको जनाएको छ । विगत दुई वर्षदेखि आन्तरिक स्रोतबाट खर्च धान्दै आए पनि अब थप घाटा सहन नसक्ने अस्पतालको भनाइ छ ।
भुक्तानी अभावका कारण औषधि तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई समेत पाँच महिनादेखि रकम दिन नसकिएको अस्पतालले जनाएको छ। यता स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरका सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ।
यस अवस्थाले बीमित नागरिक सेवाबाट वञ्चित हुने र स्वास्थ्य बिमा कार्यक्रम नै संकटमा पर्ने जोखिम बढेको छ।








प्रतिक्रिया