
एजेन्सी । इरानमा सरकारविरोधी विशाल प्रदर्शनका बीच सैन्य कारबाहीको धम्कीपछि इरानीहरूले आफूसँग वार्ता गर्नका लागि फोन गरेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दाबी गरेका छन् ।
आइतबार एयर फोर्स वान विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानका नेताहरूले हिजो फोन गरे । एउटा बैठक राख्न खोजिँदैछ । उनीहरू वार्ता गर्न चाहन्छन् ।’
तर, बैठकअघि नै कदम चाल्नुपर्ने सम्भावना रहेको उनले बताए ।
अमेरिकी सेनाले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको ट्रम्पले जानकारी दिए ।
‘हामी यसलाई धेरै गम्भीरताका साथ हेरिरहेका छौं । सेनाले यसलाई हेरिरहेको छ र हामी कडा विकल्पहरू हेरिरहेका छौं । हामी निर्णय गर्नेछौं,’ उनले भने ।
इरानले ‘रेड लाइन’ पार गरेको हो कि भनेर सोधिएको प्रश्नमा अमेरिकाका राष्ट्रपतिले विशिष्ट सैन्य योजनाहरू बताउन अस्वीकार गरे ।
उनले इरानभित्रको स्थितिको बारेमा घण्टैपिच्छे अपडेटहरू पाइरहेको एउटा कुनै निर्णय गने पनि जानकारी दिए ।
प्रदर्शनकारीहरू मारिएको रिपोर्टहरूको बारेमा सोधिएको प्रश्नमा केही मृत्युहरू भीडको अवस्थासँग सम्बन्धित रहेको ट्रम्पले बताए । ‘केही प्रदर्शनकारीहरू भागदौडका कारण मारिए । मेरो मतलब तपाईंले बुझ्नुभयो होला । त्यहाँ धेरै संख्यामा प्रदर्शनकारी छन् र केहीलाई गोली हानिएको छ,’ उनले भने ।
इरान वा उसका सहयोगीहरूले सम्भावित बदला लिन सक्ने प्रश्नहरूको जवाफ दिँदै ट्रम्पले कडा चेतावनी दिए । ‘उनीहरूले त्यसो गरे भने हामी उनीहरूलाई यस्तो स्तरमा प्रहार गर्नेछौं जुन उनीहरूलाई पहिले कहिल्यै गरिएको छैन,’ उनले भने, ‘तिनीहरूले विश्वास समेत गर्ने छैनन् ।’
इरानले पहिले नै अमेरिकाको दृढ संकल्प बुझ्नुपर्ने उनले बताए । ‘तिनीहरूले हाम्रो धम्कीलाई गम्भीरताका साथ लिँदैनन् जस्तो लाग्छ ?’ ट्रम्पले एक पत्रकारलाई सम्बोधन गर्दै भने, ‘सुलेमानी, अल–बग्दादी र इरानको आणविक खतरा सबै मेटिएको छ ।’
ट्रम्पले प्रतिक्रियाको बारेमा अमेरिकी सहयोगीहरूसँग समन्वय गरेका थिए वा थिएनन् भन्ने कुरा बताएनन् । उनले कुनै निर्णयको लागि समयरेखा पनि दिएका छैनन् ।
इरानका विभिन्न शहरहरूमा हजारौं व्यक्ति वर्तमान शासनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।








प्रतिक्रिया