
काठमाडौं । बी एन्ड बी हस्पिटलले एकै वर्ष साढे २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२४ मा १ अर्ब ९५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ४२ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ३२ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ९४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।अस्पतालको कारोबार सन् २०२५ मा ३१ प्रतिशतले बढेको छ ।
गत आवमा २६ प्रतिशतले अस्पतालको कारोबार बढेको छ भने फार्मेसीको कारोबार ६० प्रतिशतले बढेको रेटिङमा उल्लेख छ। अस्पतालले गत आवमा ६१ प्रतिशत अकुपेन्सी लेभलमा सञ्चालन भएको जनाएको छ । बी एन्ड बी अस्पतालले २ सय ३० सय्याबाट सेवा दिइरहेको छ । सन् २०२४ मा २ सय १४ वटा सय्याबाट सेवा दिएको थियो ।
अस्पताले विशेषगरी अर्थोपेडिक्स र जेनरल सर्जरी सेग्मेन्टबाट उच्च कारोबार गर्दै आएको जनाएको छ । तर, गत आवमा भने सन् २०२४ को तुलनामा उक्त सेग्मेन्टको कारोबार घटेको पाइएको छ । सन् २०२४ मा ५१ प्रतिशत अर्थोपेडिक्स र जेनरल सर्जरीबाट आम्दानी गरेकोमा गत आवमा ४७ प्रतिशत आम्दानी गरेको उल्लेख छ ।
ललितपुर जिल्लाको ग्वार्कोमा रहेको अस्पतालले मेडिकल, सर्जिकल र डाइग्नोस्टिक सेवा दिँदै आएको छ । हस्पिटलले हाल अर्थोपेडिक्स, जेनरल सर्जरी र यूरोलोजी सेग्मेन्टलाई प्राथमिकता दिँदै आएको छ । त्यसैगरी, हस्पिटलले चरणबद्ध रूपमा कार्डियोलोजी, न्यूरोलोजी, अन्कोलोजी लगायतका क्षेत्रमा पनि सेवा विस्तार गर्ने जनाएको छ ।
डा. अशोककुमार बाँस्कोटा र डा. जगदिशलाल वैद्यको स्वामित्व रहेको अस्पताललका मेडिकल निर्देशक डा. बाँस्कोटा छन् भने प्रबन्ध निर्देशक डा. वैद्य छन् । सन् १९९४ मा ३ सय सय्याका साथ सेवा दिने उद्देश्यसहित स्थापना भएको हस्पिटलले विभिन्न स्वास्थ्य सेवा दिँदै आएको छ ।
अस्पतालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९४ करोड ४१ लाख रुपैयाँको रेटिङ गराएको छ । हस्पिटलले दीर्घकालीन कर्जाका लागि ८६ करोड ९१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया