
काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि सिम कार्डको स्वामित्व आफ्नै नाममा ल्याउन मिल्ने गरी अनलाइन केवाइसी (केवाईसी) अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ ।
लामो समयदेखि अरूको नाममा रहेको सिम प्रयोग गरिरहेका वा आफ्नो विवरण अद्यावधिक नभएका ग्राहकहरूलाई लक्षित गर्दै टेलिकमले यो सहज व्यवस्था ल्याएको हो ।
अब ग्राहकहरूले सिम कार्डको स्वामित्व परिवर्तन गर्न वा विवरण सच्याउनका लागि टेलिकमको कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ । कम्पनीले विकास गरेको अनलाइन फारममार्फत घरमै बसेर आफ्नो विवरण अद्यावधिक गर्न सकिने टेलिकमले जनाएको छ ।
फारम भर्न आवश्यक पर्ने कागजात र विवरणहरू:
अनलाइनमार्फत आफ्नो सिम कार्डको स्वामित्व दाबी गर्न वा केवाईसी अद्यावधिक गर्न प्रयोगकर्तासँग नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूले प्रयोग गरिरहेको उक्त सिमबाट हालसालै कुराकानी गरिएका पाँचवटा मोबाइल नम्बरहरूको सूची, प्रयोगकर्ताको हालसालै खिचिएको एक प्रति डिजिटल फोटो आवश्यक हुन्छ । फोटोका लागि लाइभ खिच्ने व्यवस्था रहेकाले मोबाइल/ल्यापटपको क्यामेरा तथा कम्प्युटरमा भए वेब क्याम जडान भएको हुनुपर्ने छ ।
किन गर्ने अद्यावधिक?
आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सकिन्छ । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर कसको नाममा दर्ता छ भन्ने थाहा पाउन सक्छन् ।
सिम कार्ड आफ्नो नाममा हुँदा मोबाइल बैंकिङ, सरकारी सेवा (नागरिक एप), र अन्य डिजिटल वालेटहरूको प्रयोग सुरक्षित हुन्छ ।
सिम कार्ड हराएको वा बिग्रिएको खण्डमा पनि वास्तविक मालिकले मात्र नयाँ सिम सहजै प्राप्त गर्न सक्ने भएकाले टेलिकमले सबै प्रिपेड प्रयोगकर्ताहरूलाई आजै फारम भरी आफ्नो विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ । प्रयोगकर्ताले नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा उपलब्ध लिङ्कमार्फत यो प्रक्रिया पूरा गर्न सक्नेछन्।
यो लिंकबाट आफूले चलाइरहेको अरुको नामको सिमलाई आफ्नो नाममा सार्नुहोस्








प्रतिक्रिया