
काठमाडौं । विगत केही वर्षदेखि निरन्तर घटिरहेको महालक्ष्मी वायर एन्ड केबल इन्डष्ट्रिजको व्यापार गत आर्थिक वर्ष पनि घटेको पाइएको छ । कम्पनीको व्यापार सन् २०२२ देखि निरन्तर घट्दै गएको तथ्यांक छ ।
सन् २०२१ मा ३ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको कारोबार सन् २०२२ मा घटेर २ अर्ब २० करोड ५० लाख भएको थियो । त्यस्तै, सन् २०२३ मा १ अर्ब ९८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ४३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
गत आवमा कम्पनीले १ अर्ब ३९ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ ।
तथ्यांक हेर्दा कम्पनीको व्यापार हरेक वर्ष घट्दै गएको पाइएको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा २.८ प्रतिशतले घटेको छ ।
कम्पनीकाअनुसार आर्थिक सुस्तताका कारण मागमा कमी आउँदा व्यापार हरेक वर्ष घटिरहेको उल्लेख गरेको छ । साथै, कम्पनीले गत आवमा १ प्रतिशतभन्दा कम खुद नाफा कमाएको छ ।
सन् २०१० मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तार र केबल उत्पादन गरी विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कान्तिपुर केबल, अरिहन्त केबल, सुरक्षा केबल र महालक्ष्मी वायर एन्ड केबल ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले विभिन्न प्रकारका वायर र केबल मात्रै नभएर पाइप र पाइप फिटिङको सामग्री जल ब्रान्डमा उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले फ्यान महालक्ष्मी फ्यान ब्रान्डमा उत्पादन गर्दै आएको छ ।
कम्पनीले उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अल्मोनियम रोड, कप्पर रोड, स्टिल वायर, पीभीसी एन्ड एक्सएलपीई भारत, जापान, ताइवान र अन्य देशबाट आयात गर्दै आएको छ । कम्पनीको ९४ प्रतिशत कारोबार कच्चा पदार्थको रहेको रेटिङमा उल्लेख गरेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाको लागि १ अर्ब २ करोड ५१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ५ करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको प्रबन्ध निर्देशक गिरिशकुमार लुनिया हुन् । कम्पनीमा अरिहन्त अटो करुगेसन, अरिहन्त इन्डष्ट्रियल एन्ड कमर्सियल इन्भेष्टमेन्ट, अरिहन्त इन्फ्रास्ट्रक्चर, अरिहन्त केमिकल एन्ड अधेसिभ प्रालिको ५६.६१ प्रतिशत स्वामित्व छ ।








प्रतिक्रिया