नेपालले हालसम्म ४२ वटा मुलुकसँग हवाई सेवा सम्झौता गरेको भए पनि हालसम्म १४ वटा मुलुकले मात्रै नेपालमा उडान गर्छन्। समग्रमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान सेवा भने तीन वायुसेवाले ११ देशका १७ गन्तव्यमा मात्रै दिन सकेका छन् ।

काठमाडौं । नेपालले ४२ वटा मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको भए पनि १५ वटा मुलुकसँग मात्र अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।
नेपाल आउने अन्तर्राष्ट्रिय उडानको संख्या स्वदेशीसहित ३० हुँदा मासिक करिब पौने ४ लाख यात्रुले सेवा लिएका छन् । नेपालको अन्तर्राष्ट्रिय उडानबाट औसतमा दैनिक १२ हजार यात्रुले सेवा लिइरहेका छन् ।
नेपालको अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीबाहेक २७ विदेशी एयरलाइन्सले नियमित हवाई सेवा दिइरहेका छन् । तीन वटा नेपाली कम्पनीका पनि जहाज संख्या कम भएकाले यसका उडान पहुँच पनि कमजोर छ।
नेपाल एयरलाइन्सले मुस्किलले ९ वटा मुलुकमा र हिमालय एयरलाइन्सले ७ वटा मुलुकमा उडान गर्दै आएको छ । यी दुई वायुसेवामध्ये दुवैले उडान गर्ने गन्तव्यमा देश करिब समान नै छन् ।
निगमले गर्ने ९ वटा देशका ११ गन्तव्यमा साताको ७९ वटा उडान गर्दै आएको छ । हिमालय एयरलाइन्सले पनि सात देशका ८ वटा गन्तव्यमा र बुध्द एयरले भारतका दुई गन्तव्यमा उडान गर्छ । समग्रमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान भने ११ देशका १७ गन्तव्यमा मात्रै हुन्छ ।
नेपाल एयरलाइन्सले चीनको ग्वान्झाउ, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुबई, हङकङ, भारतको नयाँ दिल्ली, मुम्बई, बेङ्ग्लोर, थाइल्यान्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा मात्रै नियमित उडान गर्न सकेको छ । यसमा नेपाल एयरलाइन्स र हिमालयबीच ४ वटा गन्तव्य भने साझा छन् ।
नेपालबाट हुने उडानमा बुद्ध एयरले भारतको कोलकाता र बनारसमा उडान गर्छ । बुद्धले कोलकाता हरेक आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा ४ उडान गर्न थालेको छ । बनारस भने हरेक साता सोमबार, बुधबार र शुक्रबार गरी तीन उडान गर्दै आएको छ ।

नेपालबाट हिमालयन एयरलाइन्सले पनि नियमित अन्तर्राष्ट्रिय उडान गर्छ । हिमालयले नेपालबाट बंगलादेशको ढाका, चीनको ल्हासा, कुवेत, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, यूएईको दुबई, साउदी अरबको दमाम र रियादमा उडान गर्छ ।
हिमालयले गर्ने उडानमा नेपाल एयरलाइन्सले गर्ने गन्तव्यबाहेक साउदी अरबको रियाद, कुवेत, चीनको ल्हासा, र बंगलादेशको ढाकामा उडान गर्छ । हिमालय एयरलाइन्स नेपालमा सञ्चालनमा आएको एकमात्रै निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । निजी वायुसेवामा बुद्ध पनि देखिएको भएपनि आन्तरिकमा अग्रणी यो वायुसेवाले भारतका दुई गन्तव्यमा आन्तरिक उडान गर्ने एटीआर ७२ नामक जहाजबाट मात्रै सेवा दिन्छ ।
नेपालमा विदेशी वायुसेवाहरू भारतबाट एयर इन्डिया, इन्डिगो, एयर इन्डिया एक्सप्रेस र स्पाइस जेटले उडान गर्छन् । मलेसियाबाट बाटिक र मलेसियन एयरलाइन्सले उडान गर्दै आएका छन् । यूएईबाट एयर अरेबिया, एयर अरेबिया अबुधाबी र फ्लाई दुबईले उडान गर्छन् ।
कतारबाट कतार एयरवेज, सिंगापुरबाट सिंगापुर एयरलाइन्स, दक्षिण कोरियाबाट कोरियन एयर, टर्कीबाट टर्किस एयरलाइन्सले उडान गर्छन् । कुवेतबाट नेपालमा जजीरा एयरवेज र कुवेत एयरलाइन्सले उडान सुविधा दिँदै आएका छन् । बङ्गलादेशबाट विमान बंगलादेश, चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न र सिचुवान एयरलाइन्सले उडान गर्छन् ।
नेपालमा उडान गर्ने विदेशी वायुसेवामा हङकङबाट क्याथे प्यासिफिक एयरवेज, भुटानबाट ड्रुक एयर, टासी एयरले उडान सुविधा दिन्छन् । थाइल्यान्डबाट थाइ एयर एसिया, थाइ एयरवेज र थाइ लायनले नियमित उडान दिँदै आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
नेपालसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएपनि अस्ट्रेलिया, अस्ट्रिया, बहराइन, ब्रुनाई, कम्बोडिया, क्रोएसिया, इजिप्ट, फ्रान्स, जर्मनीबाट उडान भएको छैन ।
नेपालले पनि ती मुलुकमा उडान गर्न नसक्दा हवाई सेवा सम्झौता भएपनि उडान भने ठप्प छ ।
हवाई सेवा सम्झौता भएर पनि नेपालसँग उडान सम्बन्ध जोडिन नसकेका देशको सूचीमा इजरायल, इटाली, जोर्डन, लक्जेम्बर्ग, मकाउ, माल्दिभ्स, म्यानमार, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, रसिया, रुवान्डा, स्विजरल्याण्ड, संयुक्त अधिराज्य, भियतनाम समेत छन् । नेपालमा केही समय उडान गरेका बहराइन, मकाउ, ओमान र पाकिस्तानले भने हाल सेवा दिएका छैनन् ।

हवाई सेवा सम्झौता गर्दैमा उडान हुनैपर्छ भन्ने बाध्यात्मक सर्त नहुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलले बताए । उनका अनुसार दुवै पक्षले आफ्नो अनुकूलता र आवश्यकतामा मात्रै हवाई उडान हुने गरेको छ ।
हवाई सेवा सम्झौतापछि चाहेको बेला हवाई सेवा दिन सहज हुन्छ भने नेपालले कुनै पनि बेला वायुयानको क्षमता बनाएको अवस्थामा हवाई सेवा सम्झौता भएका देशमा उडान गर्न सहज हुन्छ ।
पछिल्लो समय पर्यटन मन्त्रालयले न्युजिल्यान्ड र कुवेतसँग हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने तयारी गरिरहेको छ । अन्य देशहरूसँग पनि आवश्यकता र हाम्रो पनि रुचि भएका देशमा पहल भइरहेको डंगोलले बताए । नयाँ हवाई सेवा सम्झौता गर्नका लागि भने तान्जानिया र अमेरिकाले रुचि देखाएको भए पनि कुनै पहलकदमी भने अगाडि नबढेको पर्यटन मन्त्रालयका सहसचिव डंगोलले बताए ।
नेपालले हवाई सेवा सम्झौता गर्दा र पुनरावलोकनमा काठमाडौं बाहिरका अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिन थालेको छ । जसले गर्दा भविष्यमा काठमाडौं बाहिरका विमानस्थलसमेत सञ्चालन सहज हुने र यात्रु सेवामा सहजता हुने भनाइ पर्यटन मन्त्रालयको छ ।
त्यसो त पछिल्लो समयमा भएका हवाई सेवा सम्झौता र पुनरावलोकनमा भैरहवा र पोखरा विमानस्थल प्राथमिकतामा पर्न थालिसकेको पनि पर्यटन मन्त्रालयको भनाइ छ । तर विदेशी वायुसेवा काठमाडौं केन्द्रित भएका कारण बाहिर जानै चाहिरहेका छैनन् । बजार नबनेको र नाफामूलक बन्न नसकेका कारण पनि विदेशी वायुसेवाले काठमाडौं विमानस्थललाई नै प्रमुख प्राथमिकतामा राखेका छन् ।
वायुसेवा निगमले गरिरहेका अन्तर्राष्ट्रिय उडान गन्तव्यहरु









प्रतिक्रिया