देउराली बहुउद्देश्यीय सहकारीको बचत हिनामिना गरेको आरोपमा रविन्द्रसहित ३ विरुद्ध मुद्दा

301
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाई, पूजा खत्री र राजेन्द्र खत्रीविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले सातदोबाटो स्थित देउराली सहकारीको बचत रकम अपचलन गरेको आरोपमा तीन जना विरुद्ध मुद्दा दर्ता गरेको हो । सम्पत्ति शुद्धीकरण प्रकरणमा २ अर्ब ६८ करोड ५१ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित उक्त व्यक्तिविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्र तथा प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानबाट सहकारीका केन्द्रीय तथा शाखा कार्यालय (सातदोबाटो, न्युरोड, काठमाडौं र भक्तपुर) मार्फत संकलित बचत रकम अपचलन गरिएको छ ।

अपचलन गरिएको रकमबाट काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र झापा लगायत जिल्लामा घडेरी तथा जग्गा खरिद गरिएको, साथै विभिन्न कम्पनी स्थापना गरी लगानी गरिएको देखिएको विभागको निष्कर्ष छ ।

सहकारी संस्थाका अध्यक्ष चौलागाई र उनकी पत्नी पूजा खत्री सूचक संस्था मानिने सहकारीकै अध्यक्ष तथा उपाध्यक्ष पदमा रही कसुर गरेको देखिएकाले उनीहरूमाथि थप सजाय माग गरिएको विभागले जनाएको छ ।

यस्तै, अर्का प्रतिवादी मनोज भण्डारीविरुद्ध पनि सम्पत्ति शुद्धीकरण ऐनको दफा ३ को उपदफा (२) र (३) बमोजिमको कसुरमा मुद्दा दायर गर्दै उनको नाममा रहेको घर–जग्गा समेत जफत गर्न मागदाबी लिइएको छ ।