
काठमाडौं । अर्विन्द इम्पोरियम प्रालिको व्यापार १५ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५ प्रतिशतले घटेको हो ।
सन् २०२४ मा ३ अर्ब ४८ करोड ३० लाखको कारोबार गरेको कम्पनीले सन् २०२५ मा २ अर्ब ९६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा ३ अर्ब ७६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् १९८३ मा स्थापना भएको सन् २००८ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो ।
कम्पनीले गत आवमा ४.८७ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा २.७० प्रतिशत नाफा कमाएको थियो । जसमा कम्पनीले सन् २०२५ मा १४ करोड ५० लाख रुपैयाँ र सन् २०२४ मा ९ करोड ४० लाख रुपैयाँ नाफा कमाएको रेटिङमा उल्लेख छ ।
कम्पनीले विशेषगरी सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गरी व्यापार गर्दै आएको छ । कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक जिपसम, आइरन ओर, बक्सिट, फ्लाई एस र बिटुमिन आयात गरी सिमेन्ट उद्योगहरुलाई बिक्री वितरण गर्दै आएको छ । कम्पनी नेपाल आयल कर्पोरेशनबाट पेट्रोल पम्प आधिकारिक वितरक पनि हो ।
एचआर गोयल ग्रुपद्वारा सञ्चालित कम्पनीमा सुरेन्द्रकुमार गोयलको स्वामित्व छ । कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ५२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।








प्रतिक्रिया