
काठमाडौं । झापाको कन्काई–३ मा २ अर्ब रुपैयाँ लगानीमा कृषिजन्य वस्तु प्रशोधन गर्ने उद्योग बन्ने भएको छ ।
सन् २०२५ मा दर्ता भएको पूर्वाञ्चल इन्डष्ट्रिजले कृषिजन्य वस्तु चामल मिल, दालको प्रशोधन, गहुँ र मकैको मिल, तोरी र सन्फ्वालर तेलको प्रशोधन, माछा र पोल्ट्री दानाको उत्पादन र कोल्ड स्टोरजको सुविधासहित उद्योग बनाउने भएको हो ।
कम्पनीले वार्षिक १ लाख १७ हजार ५ सय २० मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्ने जनाएको छ । कम्पनीमा तीन जनाको स्वामित्व छ । तीन जनामध्ये सबैभन्दा बढी स्वामित्व भने गोपालप्रसाद मैनालीको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले लगानीको अनुपात ७०:३० राखेको छ । जसमा हालसम्म कर्जाको ८ प्रतिशत रकमको भने व्यवस्थापन भइसकेको छ ।
हाल उद्योग निर्माणको कार्य सुरुवाती चरणमा छ । कम्पनीअनुसार अहिले जग्गा अधिग्रहणको कार्य र सिभिल कार्यको लागि सम्झौता भइसकेको छ ।










प्रतिक्रिया