बैंकहरू एनपीएलको समस्याले थलिए: पृथ्वीराज लिगल


काठमाडौं । अर्थविद् पृथ्वीराज लिगलले नेपालको वर्तमान आर्थिक अवस्था र मौद्रिक नीतिको प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।

नेपाल राष्ट्र बैंकद्वारा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै लिगलले तथ्यांकमा अर्थतन्त्रका सूचकहरू राम्रो देखिए पनि व्यवहारमा बैंकहरू खराब कर्जा (एनपीएल) को समस्याले थलिएको र लगानी गर्ने वातावरण नभएको टिप्पणी गरे ।

लिगलले अहिलेको अवस्थामा ‘लगानी गर्नुभन्दा नगर्नु नै जोखिममुक्त र उचित’ भन्ने मानसिकता विकास भएको बताए ।

राष्ट्रिय बचत ३६ प्रतिशत र लगानी २४ प्रतिशत हुँदा पनि आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्न नसक्नुले बचत र लगानीबीचको खाडल उच्च रहेको उनको तर्क छ । ‘३ देखि ३.५ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हुने संकेत देखिँदैन, अर्थतन्त्र सुधारतर्फ गएको महसुस भएको छैन,’ उनले भने ।

बैंकहरूमा थुप्रिएको तरलता प्रशोचन गरेर मात्र समस्या समाधान नहुने भन्दै लिगलले त्यसको सही उपयोग हुन नसकेको बताए । अर्थतन्त्रको वास्तविक क्षेत्र चलायमान नभई पुँजी बजारमा जति नै रकम पठाए पनि नेप्से परिसूचक २७०० को विन्दुभन्दा माथि जान नसक्ने उनको दाबी छ । देश अहिले ‘लिक्विडिटी ट्रयाप’ मा पर्न लागेको र यसले अर्थतन्त्रलाई ‘इकोनोमिक स्टेग्नेसन’तर्फ लैजाने खतरा रहेको उनले औंल्याए ।

नेपालको विनिमय दर नीतिको आलोचना गर्दै लिगलले ३२ वर्षदेखि भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर (पेग) पुनरावलोकन हुन नसक्नु मुख्य समस्या भएको बताए ।

स्थिर विनिमय दरकै कारण नेपालको मौद्रिक नीति प्रभावहीन बनेको उनको तर्क छ । ‘जबसम्म स्थिर विनिमय दर रहन्छ, तबसम्म मौद्रिक नीतिले केही गर्न सक्दैन । मूल्य नियन्त्रणमा नेपालको मौद्रिक नीतिको भूमिका २० प्रतिशत मात्रै छ, बाँकी ८० प्रतिशत नियन्त्रण भारतकै हातमा छ,’ उनले भने ।

लिगलले नेपाल अब ‘म्यानेज कन्भर्टिबिलिटी’को बाटोमा जानुपर्ने र त्यसका लागि सुरुमा स्थिर विनिमय दर छोड्नुपर्ने बताए ।

स्थिर विनिमय दरकै कारण नेपालका औद्योगिक घरानाहरू उत्पादन छोडेर व्यापारतर्फ आकर्षित भएको उनको बुझाइ छ । उद्योगमा झमेला र रोजगारीको भार व्यहोर्नुभन्दा व्यापार सहज र नाफामूलक भएकाले नेपालको उत्पादकत्व विश्वका अन्य मुलुकको तुलनामा न्यून हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

हाम्रा कतिपय नीतिहरूले पुँजी निर्माणमा सहयोग गर्नुको सट्टा रिभर्स तय गरेको भन्दै लिगलले अर्थतन्त्रलाई पुनरुत्थान गर्न संरचनात्मक सुधारको आवश्यकतामा जोड दिए ।