
काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालले अफवाह फैलाउँदै झुटो कारोबार गरी जोशी हाइड्रोबाट ४९ लाख रुपैयाँ कमाएको पाइएको छ । कानून विपरीतको यस्तो कार्य गरेका अग्रवाललाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
अग्रवालले बजारलाई प्रभावित पार्नका लागि २०८० फागुन २ गते सामाजिक सञ्जालमा स्टाटस लेखेर जोशी हाइड्रोपावरको सेयर किन्ने र त्यो बढेर प्रतिकित्ता एक हजार रुपैयाँ पुग्ने दाबी गरेका थिए ।
‘आज साथीहरुलाई प्रमिस गरे बमोजिम म के गर्दैछु भन्न गइरहेको छु । आज मैले आफ्नो सम्पूर्ण फाइनेन्स, पिपुल्स पावर लिमिटेड (पीपीएल) तथा रिभर फल्स पावर लिमिटेड (आरएफएल) बेचेर जोशी किन्ने निर्णय गरेको छु । के जोशी १००० सम्म पुग्छ ?’ सो दिन अग्रवालले सामाजिक सञ्जालमा लेखेका थिए ।
उनले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको यो विषयमा धितोपत्र बोर्डमा गुनासो पुगको थियो । उनले जोशीको ६५% राइट आउँदैछ, जोशीले ६५% राइट पछि १:२ राइट फेरि जारी गर्दैछ भनेर समेत भ्रम फैलाएका थिए ।
उनले जोशीले ५३ मेगावाटको हाइड्रपावर किन्दैछ त्यसैले यो स्क्रिप्ट छिटै १ हजार पुग्ने भन्ने भ्रममात्र छरेनन् आफ्नो पूरै पोर्टफोलियो जोशीमा सिफ्ट गर्दा सानो समयमा धेरै फाइदा हुने भन्दै अफवाह समेत फैलाएका थिए ।
जोशी हाइड्रोसँग अग्रवालको कुनै सम्बन्ध थिएन, तर पनि उनले सेयरको भाउ बढाउन गलत सूचनलाई भ्रामक बनाएर दिइरहेका थिए । जोशीले भने त्यतिबेला हाल कायम रहेको सेयरको १:०.६५ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियो । त्यस बाहेक फेरि १:२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने तथा ५३ मेगावाटको हाइड्रोपावर किन्ने सम्बन्धमा कुनै निर्णय गरेको थिएन। यो केवल अग्रवालले आफ्नो सेयरको भाउ गराउन गरेको नकारात्मक प्रचार मात्रै भएको ‘दीपेन्द्र अग्रवालले धितोपत्र बजारलाई प्रभावित पारे/नपारेको सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८२’ को निष्कर्ष छ ।
जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले हाल कायम रहेको सेयरको १:०६५ अनुपातमा हकप्रद सेयर निष्काशन पश्चात् फेरि १:२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने तथा ५३ मेगावाटको हाइड्रोपावर किन्ने सम्बन्धमा कुनै निर्णय पनि गरेको थिएन । अग्रवालले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ को खण्ड (ग) बमोजिम अन्य लगानीकर्तालाई उक्त कम्पनीको सेयर खरिद गर्न उक्साउने उद्देश्यले बदनियत साथ झुट्टा तथा भ्रामक विवरण सम्प्रेषण गर्ने, पूर्वअनुमान बनाउने काम गरी झुक्याउने काम गरेको देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

भ्रामक कुराहरु सार्वजनिक गर्नुपूर्व गरेको सेयर कारोबारहरुबाट दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरहरु खरिद गरी संकलन गरेको, भ्रामक कुराहरु सार्वजनिक गरेपछि बजार बढेको र उक्त सेयरहरु बढी मूल्यमा बिक्री गरेको फेला परेको छ ।
अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरहरु औसत २७५ रुपैयाँ ७४ पैसामा खरिद गरी औसत ३४२ रुपैयाँ ८५ पैसामा ७३ हजार ३०७ कित्ता खरिद बिक्री गरेका थिए । प्रतिकित्ता ६७ रुपैयाँ ११ पैसा मुनाफा देखिएको उक्त कारोबारबाट अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ९० पैसा नाफा कमाएको बोर्डले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अग्रवालले झुटो कारोबारबाट ४९ लाख १९ हजार रुपैयाँ कमाउनु धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरणहरु दिने कसुर गरेको पुष्टी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया