‘मदर मेरी कम्स टु मी’ समीक्षा: आमाको छायाँमा व्यक्तित्व निर्माणको विवरण


काठमाडौं । भारतकी प्रख्यात वामपन्थी लेखिका अरुन्धती रोयले आफ्नो व्यक्तित्व निर्माण, लेखनयात्रा र राजनीतिक सोच विकासको कथालाई ‘मदर मेरी कम्स टू मी’ शीर्षकको संस्मरणमार्फत बताएकी छन् ।

संस्मरणमा अरुन्धतीले आफ्नी आमासँगको जटिल सम्बन्ध र आधुनिक भारतको अशान्त राजनीतिबीच बुनिएको जीवनको लयात्मक र मर्मस्पर्शी विश्लेषण प्रस्तुत गरेकी छन् । पुस्तकको आरम्भमा अरुन्धतीकी आमा मेरी रोयको मृत्युको जानकारी पाइन्छ । लेखिकालाई जीवनभरि आमाको बिदाइका लागि तयारी गर्दागर्दै पनि हृदयविदारक अवस्थामा पुर्याएको वर्णन पाइन्छ।

अरुन्धतीले आफ्नी आमालाई कठोर, आफ्नै बलबुतामा उभिएकी र एक संकुचित रूढिवादी सिरियाली क्रिस्चियन समुदायमा जुझारु साहसका साथ प्रस्तुत हुने महिलाको रूपमा चित्रण गरेकी छन् । अरुन्धतीका लागि आमा मेरी ओत र आँधी दुवै थिइन् । आमाको भीषण र अनपेक्षित रिसका कारण लेखिकाको बाल्यकाल त्रासको वातावरणमा बितेको थियो । आमासँगको त्यही सम्बन्धले अरुन्धतीको व्यक्तिगत पहिचान र वामपन्थी विचारधाराको जन्म भयो । उनले आफ्नो जवानी आफ्नी आमाको नियन्त्रणबाट फुत्किने प्रयासमा बिताइन् । आमाले मूल्यहीन व्यक्तिका रूपमा चित्रित गरेको झोंकमा केही बनेर देखाउने हुटहुटी उनमा जाग्यो ।

अरुन्धतीको राजनीतिक विचारको निर्माण केरला राज्यको आयमेनियममा उनले देखेको वर्गीय असमानता र सामाजिक उथलपुथलसँग जोडिएको छ

आफ्नो बाल्यकाललाई अरुन्धतीले भगौडा र घुसपैठियाको रूपमा व्याख्या गरेकी छन् । उनकी आमाले आफ्ना पतिलाई छोडेर हिँडेपछि उनको परिवार ऊटीको ओसिलो र उदास कुटीरमा सुकुम्बासीको रूपमा बस्यो । त्यहाँ मेरीले विद्यालय चलाउन थाल्छिन् अनि त्यसैमा अरुन्धती र उनका दाइ ललित कुमार अध्ययन गर्न थाल्छन् ।

उपन्यासकारका रूपमा आफ्नो विकासक्रमलाई आफ्नी आमाको दृष्टिकोण बुझ्ने आवश्यकतासँग अरुन्धतीले जोडेकी छन् । उनका अनुसार, संसारलाई आफ्नै आघातले रंगिएको चस्माबाट नहेरिकन बुझ्ने प्रयासले नै उनलाई लेखक बनाएको हो । यस साहित्यिक दृष्टिलाई दिल्लीको विश्वविद्यालयमा उनले गरेको वास्तुकला (आर्किटेक्चर) को अध्ययनले झनै तिखारिएको देखिन्छ । त्यस अन्तर्दृष्टिलाई उनले ‘फिल्ममा उतार्न नसकिने आख्यानको संसार निर्माण गर्न’ प्रयोग गरिन् ।

अरुन्धतीको राजनीतिक विचारको निर्माण केरला राज्यको आयमेनियममा उनले देखेको वर्गीय असमानता र सामाजिक उथलपुथलसँग जोडिएको छ । उनकी आमाले महिलालाई अंशको हकका लागि कानूनी लडाइँ लडिरहेको बेलामा अरुन्धती भने मीनाचिल नदीमा आश्रय लिएर खरको छाना भएका घरमा बस्ने मानिसहरूसँग मित्रता गाँसिरहेकी थिइन् । तीमध्ये धेरै मानिस कथित ‘अछुत’ जातका थिए ।

सन् १९६९ मा नक्सलवादीहरूले एक जमिन्दारको टाउको काटेको समाचार पत्रिकामा पढेपछि उनको वामपन्थी विचारधारा अझ प्रखर भयो । अरुन्धतीले कथित तल्लो जातका मानिसको आक्रोश बुझ्ने अवसर पाइन् किनकि उनी यस्तो संसारमा बसेकी थिइन् जहाँ अपहेलित जाति र श्रमिक वर्गको आक्रोश भारतको अभिजात वर्गका लागि वास्तविक खतरा थियो । उनकी आमाले एक विद्यालयको वादविवादका लागि उनलाई भियतकोङ बालिकाको पहिरन लगाइदिएर अनि अमेरिकी साम्राज्यवादका समर्थकहरूलाई दौडिरहेका कुकुरहरू भन्न सिकाएर यो विश्वदृष्टिकोणलाई थप प्रभाव पारिन् ।

आमाको कडा शासनबाट मुक्तिका लागि १८ वर्षको उमेरमा अरुन्धती दिल्ली बसाइँ सरिन् । त्यहाँ उनलाई आफ्नो ‘फोक्सो शरीरमा फिर्ता आएको’ अनुभव भयो । दिल्लीमा उनको जीवनलाई आर्थिक स्वतन्त्रताको तीव्र चाहनाले परिभाषित गरेको थियो । यो उनकी आमाले बैंकर जस्तो व्यवहार गर्ने र उनलाई शिक्षामा गरिएको लगानीको बारम्बार सम्झना गराउने प्रवृत्तिमाथिको प्रतिक्रिया थियो ।

त्यसक्रममा उनले सानातिना जागिर खाएको र बक्स अफिसमा सफल नभएका तर फेस्टिभल सर्किटमा प्रशंसा पाएका फिल्महरूमा काम गरेको अनुभव साझा गरेकी छन् । फिल्ममा काम गर्ने क्रममै उनले निर्देशक प्रदीप क्रिश्ननसँग सम्बन्ध बनाएको, गर्भवती भएपछि त्यो भ्रूण मिल्काएको, प्रदीपकी पत्नीको निधनपछि प्रदीपसँग विवाह गरेको सबै उल्लख गरेकी छन् । इटलीमा हुँदा प्रदीपसँगको पत्राचारपछि प्रदीपले उनलाई लेखक बन्न सुझाव दिएको र आफ्नो बाल्यकालको अनुभव समेटेर ‘द गड अफ स्मल थिंग्स’ नामक उपन्यास लेखेको अरुन्धतीले इमान्दारीका साथ वर्णन गरेकी छन् । उक्त उपन्यासले प्रतिष्ठित बूकर पुरस्कार जित्नुका साथै त्यसको रोयल्टीले अरुन्धतीलाई धनाढ्य समेत बनाइदियो ।

अराजकताले भरिएको अरुन्धतीको जीवनले उनलाई फिरन्ते र बहिर्मुखी व्यक्तिको रूपमा स्थापित गरिदियो । अन्ततोगत्वा उनले आफूलाई ‘कुनै झण्डा र क्षेत्र नभएको स्वतन्त्र, गतिशील गणतन्त्र’को रूपमा घोषणा गरिन् । यो अडान उनले सन् १९९८ मा भारत सरकारले गरेको आणविक परीक्षणपछि लिएकी थिइन् ।

अरुन्धतीको संस्मरणले शक्तिमा बसेका व्यक्तिहरूप्रति उनको असहमतिको पनि गहिरो विश्लेषण गरेको छ । विशेषगरी ‘नर्मदा बचाओ’ आन्दोलनमा रोयको संलग्नताले त्यस असहमतिलाई मुखर बनाएको थियो । उनले नर्मदा उपत्यकामा गरेको भ्रमणलाई विशिष्ट बौद्धिक र भावनात्मक अनुभवका रूपमा वर्णन गरेकी छन् । त्यसले राज्यको नेतृत्वमा हुने विकासको सुस्त गतिको विस्फोटप्रतिको उनको बुझाइलाई पुनःसंरचित गरिदिएको उनी लेख्छिन् ।

ठूला बाँधहरू वातावरणीय रूपमा विनाशकारी र राजनीतिक रूपमा अलोकतान्त्रिक छन् भनी उनले आलोचनात्मक लेख लेखेपछि उनका विरुद्ध भारतको सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । त्यहाँ न्यायाधीशहरूले उनलाई बारम्बार ‘त्यो महिला’ भनेर अपमानजनक तरिकाले सम्बोधन गर्थे ।

यस संस्मरणमा अरुन्धतीले दण्डकारण्यको जंगलमा माओवादी लडाकुहरूसँग बिताएको समयको पनि वर्णन छ । ‘वाकिङ विथ द कमरेड्स’ शीर्षकको पुस्तकाकार लामो लेखमा त्यही अनुभव समेटिएको छ

रोयको वामपन्थी आलोचना आतंकविरुद्धको युद्ध (वार अगेन्स्ट टेरर) प्रति लक्षित छ । सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको निर्देशनमा आतंकवादीहरूले अमेरिकाको न्युयोर्कस्थित ट्विट टावरमा आक्रमण गरेपछि तत्कालीन बुश प्रशासनले आतंकविरुद्धको युद्धको घोषणा गरेको थियो । त्यस घोषणाले मुस्लिमहरूको दानवीकरण गर्न र भारतमा आफ्नो शक्ति सुदृढ गर्न हिन्दू राष्ट्रवादीहरूका लागि ‘ईश्वरले पठाएको उपहार’ का रूपमा अरुन्धतीले व्याख्या गरेकी छन् । ‘दी अलजेब्रा अफ इन्फिनिट जस्टिस’ शीर्षकको लेखमा अरुन्धतीले मुसलमानविरुद्ध भारतीय राज्यबाट गरिएको हिंसालाई बेवास्ता गर्न नमिल्ने तर्क गरेकी छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा भएको मुसलमानहरूको सामूहिक हत्या र त्यसअघि लालकृष्ण आडवाणीले सोमनाथदेखि अयोध्यासम्मको रथयात्रामार्फत ध्रुवीकरणका लागि तयार पारेको आधारभूमिको विषयमा अरुन्धतीले संस्मरणमा चर्चा गरेकी छन् । तर, भारतमा सन् १९९० पछि पाकिस्तानसमर्थित इस्लामी आतंकवादीहरूले अनेकौं विस्फोट गराएर सर्वसाधारणको हत्या गरेको विषयमा उनी मौन छिन् ।

यस संस्मरणमा अरुन्धतीले दण्डकारण्यको जंगलमा माओवादी लडाकुहरूसँग बिताएको समयको पनि वर्णन छ । ‘वाकिङ विथ द कमरेड्स’ शीर्षकको पुस्तकाकार लामो लेखमा त्यही अनुभव समेटिएको छ । त्यहाँ रोयको वामपन्थी विचारधारा अपरेसन ग्रीन हन्ट विरुद्ध लडिरहेका आदिवासी छापामारहरूको नजरबाट छचल्किएको छ । यस युद्धलाई उनी खानी कम्पनीहरू, पैसा र झूटद्वारा सञ्चालित युद्धका रूपमा वर्णन गर्छिन् । लगभग आधा सशस्त्र छापामारहरू अर्धसैनिक बल र सलवा जुदुम जस्ता प्रतिकार समूहको हातबाट अकल्पनीय हिंसा भोगेका आक्रोशित महिला थिए भनी उनले उजागर गरेकी छन्।

अरुन्धतीले आफ्नो लेखनको सौन्दर्य उपयोग गर्दै जंगलको बोल्ने बाँस र रातो कमिलाको अचारको वर्णन गरेकी छन् । त्यसले उनका पाठकलाई तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले ‘भारतको सबैभन्दा ठूलो आन्तरिक सुरक्षा खतरा’ भनेको नक्सलवादी संसारमा विचरण गराएको छ ।

संस्मरणमा आमा र छोरीको सम्बन्ध अन्तिम अध्यायहरूमा मार्मिक निष्कर्षमा पुग्छ

भारतको दक्षिणपन्थी सरकारले ‘अर्बन नक्सल’ भनेर जी एन साईबाबा जस्ता वाम बुद्धिजीवीहरूलाई उत्पीडन गरेकोमा उनीहरूसँग एक्यबद्धता जनाएर अरुन्धतीले समाजको सामूहिक विवेकलाई चुनौती दिने राजनीतिमा प्रतिबद्धता व्यक्त गरेकी छन् । तर, नक्सलवादीहरूप्रतिको सहानुभूतिमा अरुन्धतीले तिनले सुराकी भनेर क्रूर सफाया गरेका सर्वसाधारण र विकास निर्माण गर्ने कम्पनीहरूसँग तिनले पैसा असुलेको विषयमा एक शब्द पनि खर्चेकी छैनन् ।

संस्मरणमा अरुन्धतीले नारी हुनुको पीडालाई पनि उजागर गरेकी छन् । फिल्म शूटिङका क्रममा पचमढी पुग्नका लागि पिपरिया बस स्टेशनमा एक्लै बस्दा युवकहरू आएर अश्लील कुरा गर्ने र हर्कत देखाउने कामबाट जन्मेको त्रास भारतका महिलाहरूको कटु यथार्थ हो । महिला भएकैले अरन्धतीलाई न्यायाधीश र वकिलहरूले अदालतमा गरेको हेपाहा व्यवहार पनि लैंगिक विभेदको नमूना हो । यस्ता किसिमका तीता अनुभवहरू संस्मरणका विभिन्न भागमा अरुन्धतीले वर्णन गरेकी छन् ।

संस्मरणमा आमा र छोरीको सम्बन्ध अन्तिम अध्यायहरूमा मार्मिक निष्कर्षमा पुग्छ । मेरी रोय वृद्ध र अशक्त हुँदै जाँदा कोठामै सीमित बन्न पुगिन् । उनी शंकालु पनि बन्दै गइन् । उनले जीवनका अन्तिम क्षणहरूसम्म पनि आफ्ना सहायकहरूलाई हप्कीदप्की गरिरहिन् । दिल्लीबाट केरला आउजाउ गर्दै अरुन्धतीले आमाको परवाह गरे पनि उनीहरूबीचको मेलमिलाप कहिल्यै सुमधुर रहेन ।

तर, मृत्यु हुनुभन्दा केही समयअघि मेरी रोयले अरुन्धतीलाई ‘यस संसारमा तिमीलाई भन्दा बढी मैले कसैलाई माया गरेकी छैन’ भनिन् । बाल्यकालदेखि दशकौंसम्म आमाले हेपेको र सताएको भए पनि मरणासन्न अवस्थाको घोषणा सत्य भएको अरुन्धतीले महसुस गरिन् । उनी आफ्नो पहिचान आमाको क्रोधको भग्नावशेषबाट निर्माण भएको लेख्छिन् ।

आमालाई श्रद्धाञ्जली दिने क्रममा अरुन्धतीले उनका लागि चिहानको साटो बगैंचा बनाउने निर्णय गर्छिन् । उनले ‘आर्किटेक्चरल ट्रिपल बाइपास’मार्फत आफ्नी आमाको घरको जीर्णोद्धार गर्छिन् । त्यसले प्राचीन घरको संरचनाको सौन्दर्यलाई सम्मान मात्र गरेको नभई उनको आत्मालाई पनि निको पार्छ । ‘जसलाई जे पनि हुन सक्छ’ र ‘सधैं तयार रहनु नै उत्तम हुन्छ’ भनेर जीवनोपयोगी शिक्षा दिने आमाप्रति अरुन्धतीको यो समुचित सम्मान हो ।

संस्मरणमा अरुन्धतीले आफ्नो दाइ ललितको कारुणिक जीवन र बुवा मिकी रोयसँगको अनासक्त सम्बन्धको पनि मसिनो वर्णन गरेकी छन् । अत्यधिक मदिरा सेवनका कारण आन्द्रा च्यातिएर मरेका पिताप्रति अरुन्धतीमा खासै लगाव देखिँदैन । आमाको यन्त्रणा सहेर पछि सफल व्यवसायी बनेका दाइ ललितप्रति चाहिँ अरुन्धतीले निकै श्रद्धा देखाएकी छन् । भत्केको परिवारका मानिसहरू प्रायः वामपन्थी बन्ने गरेको तथ्यलाई अरुन्धतीले यसरी साबित गरेकी छन् ।

पुस्तकमा एउटा तथ्यगत त्रुटि पाइन्छ । दिल्लीको विश्वविद्यालयमा आर्किटेक्चरको पढाइ गर्दा अरुन्धतीले सहपाठी हिसिला यमीको कुरा झिकेकी छन् । यमीले बाबुराम भट्टराईसँग विवाह गरेको र भट्टराई पछि गएर नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेको अरुन्धती लेख्छिन् । तर, नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुन् ।

यस संस्मरणमार्फत अरुन्धतीले लयात्मक गद्यको उपयोगमार्फत आफ्नो जीवनको ऊहापोहको कथा पस्केकी छन् । विद्यालयमा हुँदा अंग्रेजीमा फेल हुने अरुन्धती कसरी भाषामा पकड बनाएकी सफल उपन्यासकार बनिन् भनी संस्मरणले उजागर गर्छ । अरुन्धतीको संस्मरण राजनीतिक घोषणापत्रका साथै गहिरो व्यक्तिगत अनुभवलाई साहित्यिक रूपमा प्रस्तुत गर्ने सशक्त सिर्जना हो ।