भियतनामी लगानीकर्ता जलविद्युतमा इच्छुक

70
Shares

भियतनाम । नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामको अर्थतन्त्र मन्त्रालय अन्तर्गतको लगानी प्रवर्धन र अन्तर्राष्ट्रिय सहकार्य विभागबिच आज द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै लगानीका सम्भाव्य क्षेत्रमा भियतनामका लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो ।

अध्यक्ष ढकालले आफूहरू भियतनामी लगानीकर्तालार्ई नेपालमा स्वागत गर्न तयार रहेको बताउँदै नेपालमा लगानीका कैयौँ क्षेत्र ठुलो सम्भावना पनि रहेकाले भियतनामी लगानीकर्तालाई नेपालमा आउन आग्रह गरे ।

उनले त्यसका लागि महासङ्घले सरकारसँगको समन्वय तथा सहकार्यका लागि आवश्यक सहजीकरण गर्ने आश्वासन दिए ।

नेपालमा विशेष गरी चिया, कफी, हस्तकला, पर्यटन सेवा, केबुलकार, जलविद्युत् र सूचना प्रविधि तथा व्यापारमा ठुलो अवसर रहेको उल्लेख गर्दै उनले नेपालमा डाटासेन्टरको क्षेत्रमा पनि अवसर भएकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

नेपालले हाल भियतनामबाट धेरै आयात गर्ने र कम निर्यात गरिरहेको उल्लेख गर्दै उनले दुई देशबिचको व्यापार तथा औद्योगिक सहकार्यलाई अझ बलियो बनाउन दुवै पक्षको गहिरो चासो रहेको पनि बताए ।

सोही अवसरमा अध्यक्ष ढकालले महासङ्घको आगामी चैतमा हुने अधिवेशनमा सहभागिताका लागि विभागका प्रतिनिधि तथा भियतनामका लगानीकर्तालाई निम्तो पनि दिए ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले निर्यातजन्य उद्योगमा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको भन्दै दुवै देशबिच लगानी र व्यापारका क्षेत्र ठुलो सम्भावना भए पनि त्यसको उपयोग नभएकाले भियतनामी लगानीकर्तालाई नेपाल आउन आग्रह गरे ।

महासङ्घका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले नेपाल र भियतनामले अटोमोबाइल, पर्यटनका क्षेत्रमा सहकार्य गरी लाभ लिन सक्नेमा जोड दिए ।

उनले पछिल्लो समय नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको उल्लेख गर्दै भियतनामी लगानीकर्ताले नेपालमा विद्युतीय सवारीको एसेम्बल उद्योग खोल्न सक्नेतर्फ जोड दिए ।

महासङ्घका कोषाध्यक्ष भरतराज आचार्यले दुई देशबिच लगानी र व्यापारका साथै आर्थिक गतिविधि बढाउनका लागि कनेक्टिभिटी महìवपूर्ण भएको उल्लेख गरे ।

उनले नेपालमा ऊर्जा क्षेत्रमा लगानीको ठुलो सम्भावना भएकाले त्यसतर्फ पनि ध्यान दिन एजेन्सीमार्फत भियतनामी लगानीकर्ताका लागि आग्रह गरे ।

महासङ्घ अन्तर्गतको स्टार्टअप एन्ड इनोभेसन फोरभका सभापति जुना माथेमाले नवप्रवर्तनका क्षेत्रमा दुवै देशबिच सहकार्य गर्न सकिनेमा जोड दिए ।

भियतनामको लगानी प्रवर्र्धन र अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामले भियतनामको आर्थिक अवस्था, प्रत्यक्ष विदेशी लगानी र लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी दिँदै आफूहरू नेपालसँग आर्थिक कूटनीतिमार्फत सम्बन्ध बढाउन इच्छुक रहेको बताए ।

सन् २०२५ को अगस्तमा भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण भएको तथा चीनमा भियतनामका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबिच भेट भएको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा उनको जोड थियो ।

‘नेपालले विभिन्न क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउनका लागि गरिरहेको प्रयास सराहनीय छ, हामीले निर्यातजन्य उद्योग, पर्यटन र जलविद्युत्का क्षेत्रमा काम गर्न सक्छौँ,’ उनले भने, ‘यसका लागि नेपालमा लगानी गर्न चाहने भियतनामी लगानीकर्ताको सहजीकरणका लागि हामी तयार छौँ ।’