अमेरिका सरकारले आधिकारिक पत्रहरूमा टाइम्स न्यु रोमन फन्ट उपयोग गर्ने, क्यालिब्रीको बहिष्कार

70
Shares

एजेन्सी । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले मंगलबार कूटनीतिकर्मीहरूलाई आधिकारिक पत्राचारमा टाइम्स न्यु रोमन फन्ट प्रयोग गर्न निर्देशन दिएका छन् ।

आफ्ना पूर्ववर्ती एन्टोनी ब्लिन्केनले क्यालिब्री फन्ट अपनाउनका लागि गरेको निर्णयलाई उनले व्यर्थको कदमको संज्ञा दिएका छन् ।

रोयटर्स समाचार संस्थाले फेला पारेको एक आन्तरिक विभागीय सन्देशमा यो कुरा खुलेको हो ।

ब्लिन्केनको नेतृत्वमा विदेश मन्त्रालयले सन् २०२३ को जनवरीको आरम्भमा आधुनिक स्यान्स–सेरिफ फन्ट क्यालिब्रीमा पत्राचार गर्ने नियम ल्याएको थियो । यसमा सजावटी कुनाहरू नहुने र माइक्रोसफ्ट उत्पादनहरूमा यो डिफल्ट हुने भएकाले अपांगता भएका व्यक्तिहरूका लागि यो बढी सहज हुने तर्क गरिएको थियो ।

डिसेम्बर ९ को मिति उल्लेख गरिएको र सबै अमेरिकी कूटनीतिक नियोगहरूलाई पठाइएको केबलमा टाइपोग्राफीले आधिकारिक कागजातको व्यावसायिकता निर्धारण गर्ने र सेरिफ टाइपफेसको तुलनामा क्यालिब्री अनौपचारिक देखिने उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, ‘मन्त्रालयको लिखित कामकाजमा शिष्टाचार र व्यावसायिकता पुनःस्थापना गर्न तथा अर्को एक फजुल डीईआईए अर्थात् विविधता, समता, समावेशिता र पहुँच कार्यक्रम खारेज गर्न मानक टाइपफेसका रूपमा पुनः टाइम्स न्यु रोमन नै प्रयोग गर्ने भएको छ ।’

यसमा थप भनिएको छ, ‘यो फम्र्याटिङ मापदण्ड राष्ट्रपतिको ‘विदेश सम्बन्धका लागि अमेरिकाको एकीकृत आवाज’ निर्देशिकासँग मेल खान्छ । यसले सबै सञ्चारमा एकीकृत र व्यावसायिक आवाज प्रस्तुत गर्ने मन्त्रालयको जिम्मेवारीलाई जोड दिन्छ ।’

केही अध्ययनहरूले क्यालिब्री जस्ता स्यान्स–सेरिफ फन्टहरू दृष्टिसम्बन्धी निश्चित समस्या भएकाहरूका लागि पढ्न सजिलो हुने सुझाव दिएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेपछि संघीय डीईआई कार्यक्रमहरू हटाउन र निजी क्षेत्र तथा शिक्षामा तिनलाई निरुत्साहित गर्न द्रुत गतिमा कदम चालेका छन् । यसक्रममा उनले संघीय निकायहरूमा रहेका विविधता अधिकृतहरूलाई बर्खास्त गर्न निर्देशन दिने र विभिन्न कार्यक्रमहरूको अनुदान रोक्नेसम्मका कामहरू गरेका छन् ।

सन् २०२० मा प्रहरीद्वारा निःशस्त्र अश्वेत व्यक्तिहरूको हत्याविरुद्ध भएको देशव्यापी प्रदर्शनपछि डीईआई नीतिहरू व्यापक बनेका थिए । त्यसले कन्जर्भेटिभहरूको तीव्र प्रतिक्रिया निम्त्याएको थियो ।

यी नीतिहरू श्वेत मानिस र पुरुषहरूप्रति भेदभावपूर्ण रहेको र यिनले योग्यतामा आधारित निर्णय प्रक्रियालाई कमजोर बनाएको ट्रम्प र विविधता पहलका अन्य आलोचकहरू बताउँछन् ।